काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको झडप प्रकरणमा फरार सूचीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । लामो समयदेखि सम्पर्कमा नरहेका मिश्र बिहान काठमाडौं जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन् ।
अदालतमा उनको बयान लिने कार्य सम्पन्न भइसकेको र मङ्गलबार नै थुनछेक बहस हुने अदालत स्रोतले जानकारी दिएको छ । यो बहसमा हुने आदेशले उनी थुनामा रहने, धरौटीमा छुट्ने वा साधारण तारेखमा रिहा हुने भन्ने टुङ्गो लाग्नेछ ।
गत जेठ ११ गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले मिश्रविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुर गरी चारवटा गम्भीर अभियोगमा मुद्दा दायर गरेको थियो । अभियोगपत्रमा उनलाई अधिकतम सजायको मागदाबी गरिएको छ ।
यसै मुद्दामा प्रतिवादी बनाइएका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने सोमबार मात्रै जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।




