बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सयौँ सवारी रोकिए

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले पूर्व-पश्चिम राजमार्गमा पर्ने विनयी खोलाको वैकल्पिक डाइभर्सन बगाउँदा मंगलबार बिहानैदेखि सवारी आवागमन अवरुद्ध भएको छ । राति परेको भारी वर्षाले विनयी त्रिवेणी गाउँपालिका-१ स्थित खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार बाढीको बहाव अझै जारी छ, जसले गर्दा उक्त क्षेत्रबाट सवारी सञ्चालन सम्भव भएको छैन । ‘डाइभर्सनमाथिबाट बाढी बगिरहेको छ, अहिले पनि जोखिमपूर्ण अवस्था रहेको छ,’ डीएसपी नेपालले भने ।

सडक अबरुद्ध भएपछि मालबाहक गाडी तथा लामो दूरीका ठूला बसहरू खोलाको दुवै किनारमा रोकिएका छन् । साना सवारीका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको भए पनि ती गाडीहरू पनि नवलपरासी पश्चिममा पर्ने दुम्किबास दाउन्नेको उकालोमा फसिरहेका छन् । डीएसपी नेपालका अनुसार दाउन्नेको उकालो क्षेत्रको सडक हिलाम्मे र चिप्लो भएका कारण गाडी सञ्चालनमा ठूलो कठिनाइ भइरहेको छ ।

लगातार वर्षाका कारण त्यहाँ सयौँ सवारी साधन रोकिएका छन् । यसअघि वैशाख २९ गते चोरमारा पुल भाँचिएपछि त्यस क्षेत्रको यातायातमा समस्या आउँदै आएको थियो । अहिलेको डाइभर्सन बग्ने घटनाले समस्या झनै गहिरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री