काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्रकृति संरक्षण र दिगो विकासप्रति आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिँदै वृहत् वातावरणीय अभियान सम्पन्न गरेको छ । बैंकले ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने नारालाई सार्थक बनाउन हाइकिङसहित फोहोर संकलन र देशभर वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।
बैंकले कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा कीर्तिपुरको रमणीय क्षेत्र मच्छेगाउँदेखि चम्पादेवी मन्दिरसम्म एकदिने हाइकिङ तथा सरसफाइ कार्यक्रम आयोजना गर्यो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित बैंकका कर्मचारी, स्थानीय निकायका प्रतिनिधि र स्वयंसेवकहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त पदयात्राका क्रममा करिब १५० केजी प्लास्टिकजन्य फोहोर संकलन गरिएको थियो ।
संकलित फोहोरलाई व्यवस्थापनका लागि कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो । यसका साथै, पदयात्रा मार्गका विभिन्न स्थानमा फोहोर व्यवस्थापनलाई दीर्घकालीन बनाउन स्थानीय समुदायले उत्पादन गरेका बाँसका डोका (डस्टबिन) समेत राखिएको छ, जसले वातावरणीय सचेतना र स्थानीय उत्पादनको प्रवर्द्धनमा एकसाथ टेवा पुर्याएको छ ।
वातावरण दिवसकै अवसरमा बैंकले आफ्नो १८औं वार्षिकोत्सवको सन्दर्भ पारेर देशभर १८ हजार रुख रोप्ने महत्वाकांक्षी लक्ष्यसहित वृहत् वृक्षारोपण अभियान पनि सञ्चालन गरेको छ । यस अभियानले वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा स्थानीय समुदायको आय-आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षण र दिगो विकासमा योगदान दिनु बैंकको प्राथमिकता रहेको बताए ।
आफ्नो व्यावसायिक उत्कृष्टताका लागि ‘ग्लोबल फाइनान्स’ र ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट ‘नेपालको सर्वश्रेष्ठ बैंक’का रूपमा सम्मानित ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको छ ।
मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित ग्लोबल आइएमई बैंकले १,००० भन्दा बढी सेवा केन्द्रमार्फत लाखौं ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिइरहेको छ ।




