काठमाडाैं । झापामा गएराति भएको एक दुःखद मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी बलका नायव निरीक्षकको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-३, सानो केर्खामा भएको दुर्घटनामा ४८ वर्षीय पुरनलाल राजवंशीले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार मोरङको कानेपोखरी गाउँपालिका-४ निवासी राजवंशी हाल इलामस्थित सशस्त्र प्रहरी बलको समालबुङ बोर्डर आउट पोस्ट (बीओपी)मा कार्यरत थिए । उनी बिर्तामोडबाट केर्खातर्फ जाँदै गर्दा आफूले चलाएको प्र१-०२-००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनापश्चात गम्भीर घाइते भएका राजवंशीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
डीएसपी खड्काका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रक्रिया अगाडि बढाइएको छ र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




