नगरकोट । दृढ इच्छाशक्ति, निरन्तरको कडा परिश्रम र अटुट आत्मविश्वास भए सानो लगानीबाट पनि कसरी शिखर चुम्न सकिन्छ भन्ने जीवन्त उदाहरण बनेकी छिन्, भक्तपुरको रमणीय पर्यटकीय स्थल नगरकोटकी सफल पर्यटन व्यवसायी रेनु तामाङ ।
सामान्य चिया पसलबाट सुरु भएको उनको २७ वर्षे व्यावसायिक यात्रा आज नगरकोटका प्रतिष्ठित होटलहरूको सञ्चालनसम्म विस्तार भएको छ, जसले उनलाई एक प्रेरणाको स्रोतको रूपमा स्थापित गरेको छ । करिब साढे तीन दशकअघि दैनिक ५ रुपैयाँ प्रतिगिलास चिया बेचेर आफ्नो उद्यमशीलताको यात्रा थालेकी तामाङ आज नगरकोटमा ‘बर्गहाउस क्याफे एण्ड होटल‘की सञ्चालिका हुन् ।
आफ्नो सङ्घर्षपूर्ण विगतलाई सम्झिँदै उनी भन्छिन्, ‘मैले यो क्षेत्रमा काम गर्न थालेको २७ वर्ष भयो । सुरुमा एउटा सामान्य चिया पसल, जहाँ चियाको ५ रुपैयाँ लिन्थेँ, त्यहाँबाट सुरु गरेको हुँ । समयसँगै चियाको मूल्य १०, १५, २० रुपैयाँ हुँदै गयो र मेरो व्यवसाय पनि क्रमशः फस्टाउँदै गयो । आज म यही व्यवसायको कमाइले यो स्थानमा आइपुगेकी छु ।’
उनको अनुभवमा होटल व्यवसाय अत्यन्तै सम्भावना बोकेको क्षेत्र हो, तर यसका लागि निरन्तर खट्ने धैर्य र बलियो आत्मविश्वास अनिवार्य छ । ‘यो व्यवसायले मलाई सबैभन्दा ठूलो कुरा आत्मविश्वास दियो । म पनि केही गर्न सक्छु भन्ने सिकायो,’ उनले व्यवसायबाट सिकेको सबैभन्दा ठूलो पाठबारे बताइन् ।
उनी आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्नो कठोर परिश्रम र परिवारको अटुट साथलाई दिन्छिन् । ‘म आफैँ पनि भान्सामा खटिन्छु, मेरो सम्पूर्ण परिवार नै यस व्यवसायमा समर्पित छ । यही व्यवसायबाट छोराछोरीको पढाइ राम्रो भयो, सबै आ-आफ्नो ठाउँमा स्थापित भइसकेका छन्,’ उनले खुसी व्यक्त गरिन् । हाल उनको ‘बर्गहाउस क्याफे एण्ड होटल’ मा दुई जना कर्मचारी र सात जना परिवारका सदस्य गरी नौ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्, जुन एक सफल पारिवारिक व्यवसायको उत्कृष्ट नमुना हो ।
नगरकोट आउने पर्यटकहरूले विशेषगरी अर्गानिक र स्थानीय परिकारहरू रुचाउने गरेको उनको अनुभव छ । ‘नगरकोट आउनेबित्तिकै पर्यटकहरूले अर्गानिक खाना नै खोज्नुहुन्छ । हामीले पनि आफ्नो रेस्टुरेन्टमा गाउँकै जैविक उत्पादनलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन् । स्थानीय बासमती चामलका विभिन्न परिकार र अन्य स्थानीय उत्पादनहरू पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको उनको भनाइ छ ।
उद्यमशीलतामा लाग्न चाहने अन्य महिलाहरूलाई उनको प्रेरणादायी सन्देश छ, ‘आफ्नो मेहनत र लगनशीलतामा विश्वास गर्नुपर्छ । आत्मविश्वास बलियो बनाएर अगाडि बढे अवश्य सफल भइन्छ । कहिल्यै लजाउनु हुँदैन, आफ्नो काम धैर्यताका साथ, राम्रोसँग र नआत्तिकन गर्नुपर्छ । परिश्रम गरेपछि त्यसको फल अवश्य मिठो हुन्छ ।’




