पर्यटन प्रवर्द्धनमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण

काठमाडौं । पर्यटन प्रवर्द्धनमा पत्रकार महिलाको भुमिका महत्वपूर्ण रहेको नगरकोटका पर्यटन व्यवसायीले बताएका छन् । सञ्चारिका समूह नेपालको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा ‘महिला पर्यटन व्यवसायीको संघर्ष र सफलतामा महिला पत्रकारको भूमिका’ विषयक एकदिने गोष्ठी कार्यक्रममा नगरकोट पर्यटनका व्यवसायीले महिला पत्रकारहरूले कुनै पनि विषयलाई गहन रुपमा लिने गरेकोले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताएका छन् ।

कार्यक्रममा नगरकोट नालुङ पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले कुनैपनि पर्यटन क्षेत्रमा महिलाहरूकै बढी उपस्थिति र प्रचार प्रसारमा मुख्य भूमिकामा रहने हुँदा महिला पत्रकारहरूले पनि पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सघाउ पुग्ने बताए । उनले भने, ‘सधैँभरि पुरुष पत्रकारहरू आउनुहुन्थ्यो यस पटक महिला पत्रकारहरूको समूह नगरकोट एक साथ देख्दा खुसी लागेको छ,’ उनले भने, ‘ कुनैपनि विषयलाई महिलाले गहन रुपमा लिनुहुन्छ, यसैगरी पर्यटन प्रवर्द्धनमा महिला पत्रकारहरूको भुमिका पनि महत्त्वपूर्ण हुन्छ भन्ने मलाइ लाग्छ ।’

उनले नगरकोटको इतिहास बताउँदै पर्यटकीय क्षेत्रमा आउने आगन्तुकका लागी रिसोर्ट होटल व्यवसायका साधारण देखि महँगा र सुविधा सम्पन्न होटल, रेष्टुराँ तथा लजहरू पर्यटकको सेवामा रहेको जानकारी दिए । अध्यक्ष गुरुङले नगरकोटको समृद्ध पर्यटकीय पृष्ठभूमिबारे जोड दिँदै भने, ‘नगरकोटमा धार्मिक, सांस्कृतिक र प्राकृतिक महत्त्व बोकेका थुप्रै पर्यटकीय स्थल, नगरकोट धार्मिक, भाषिक र सांस्कृतिक विविधता रहेको र यस क्षेत्रका धार्मिक सांस्कृतिक ठाउँलाई एक वा दुई दिनको बसाइ कम पर्ने हुँदा केही दिन घुमेर मात्र यहाँको वास्तविक सौन्दर्यतामा रमाउन सकिन्छ ।  यस्ता सम्पदाहरूको संरक्षण र प्रवर्द्धनका लागि अबको प्राथमिकता त्यसलाई गहिराइमा पुगी पत्रकारहरूले त्यसको प्रचारप्रसारमा सहयोग गरे नगरकोटको समग्र पर्यटन क्षेत्र थप समृद्ध बन्नेछ भन्ने हाम्रो अपेक्षा हो ।’

नगरकोटको भौगोलिक बनावट, हावापानी, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहरहरूलाई मिलाएर गन्तव्य पर्यटनको रुपमा स्थापित गर्ने अपार सम्भावना रहेकोले सञ्चारमाध्यम मार्फत नगरकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा अझ मजबुत बनाउन सकिने विश्वास व्यक्त गरे । महिला पत्रकारलाई नगरकोटमा निरन्तर जोडिन र त्यस क्षेत्रको प्रवर्द्धनका लागी आमन्त्रण गर्दै उनले पत्रकार महिलाको संस्था सञ्चारीका समूह नेपालले नगरकोटको पर्यटन प्रवर्द्धनमा कार्यक्रम मार्फत भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना पनि दिए ।

महिला पर्यटन व्यवसायी व्यवसायी लक्ष्मी गुरुङले आफूले २ रुपैयाँको चियाबाट सुरु गरेको व्यवसाय अहिले करोडको सम्पत्तिमा रूपान्तरण भएको अनुभव सुनाउँदै आत्मीय सेवा, अर्ग्यानिक खाना र स्थानीय संस्कृतिको महत्त्वबारे प्रकाश पारिन् । महिला पत्रकार संग व्यावसायिकता र पर्यटनको विषयमा छलफल गर्न पाउँदा खुसी रहेको लागेको बताइन् वर्षौँ देखि व्यवसायी गर्दै आएकी उनले पर्यटन व्यावसायिकताले महिलामा आत्मनिर्भर बनाउने दाबी गरिन् ।

वर्षौँ देखि पर्यटन व्यवसायीकामा धेरै अनुभव हासिल गरेकी महिला पर्यटन व्यवसायी रेनु तामाङले पर्यटन व्यवसाय नै उनको जीविकोपार्जनको माध्यम भएको बताउँदै उनले सोही व्यवसायमा रमाउने गरेको जानकारी दिइन् । उनले चिया पसलबाट सुरु भएको आफ्नो संघर्षपूर्ण यात्रा अहिले रेष्टुरेन्ट र होटलमा परिणत भएको बताउँदै पारिवारिक सहयोग र परिश्रमकै कारण सफल भएको बताइन्।

पर्यटन प्रहरी सन्तोष नेपालले नगरकोटमा आउने बाह्य पर्यटकको जिम्मेवारीलाई गहन रुपमा लिने गरेको बताए । उनले भने, ‘यहाँ आउने पर्यटकले केही सामान्य समस्या बाहेक त्यस्तो ठूलो खालको आपराधिक,अप्रिय घटना घटेको छैन । एकाध पर्यटकका पासपोर्ट हराउने मोबाइल हराउने केही समस्याहरू आएका छन् त्यसलाई हामीले समाधान गरेकै छौ । अन्य कुनै जटिल समस्या छैन ।’

सञ्चारिका समूहको पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले सञ्चारकर्मीहरूका लागि नगरकोटले एउटा फरक अभ्यासको थलो बनेको बताइन् । उनले भनिन्, ‘महिला पत्रकारहरू अब केवल घटना कभरेजमा सीमित छैनन्, उनीहरू विश्लेषक, सम्पादक र कहानीकार बन्दैछन् ।’ उनले सञ्चारिका समूहको नयाँ नेतृत्वले आगामी दिनमा विगत देखि सञ्चारिकाले महिला पत्रकारका लागी गर्दै आएका कामहरूलाई नवीन ढंगले अगाडी बढ्न सुझाव दिँदै सधैँभरि सञ्चारीका सहयोग रहने आश्वासन दिइन् ।

कार्यक्रम स्थानीय पर्यटन व्यवसायी र पर्यटन प्रहरी र पत्रकारहरूले पर्यटन प्रवर्द्धनमा ल्याउन सक्ने दृष्टिकोण, डिजिटल मिडिया प्रयोगको सम्भावना विषयमा सँगै रिपोर्टिङ पहुँच, दुर्गम क्षेत्रमा चुनौती, र लिङ्गीय पूर्वाग्रहले अवसरहरूमा असमानता सँगै पत्रकारका लागि तालिम र फेलोशिपको खाँचो रहेको बताएका थिए । कार्यक्रममा सञ्चारी समूह नेपालले ५ वर्षे रणनीतिक योजना तयारीको छलफल समेत गरेको छ । उक्त छलफलमा विज्ञ पूर्व अध्यक्ष बबिता बस्नेत, भीम भुर्तेल, अधिवक्ता सन्तोष सिग्देल, अधिवक्ता लक्ष्मी पोख्रेल लगायतका विज्ञहरूले सञ्चारीकाको योजना बारे सुझाव दिएका थिए ।

सञ्चारिकाका अध्यक्ष कमला पन्थीले पर्यटन प्रवर्द्धनमा महिला पत्रकार र व्यवसायीको सहकार्यले समावेशी पर्यटन विकासमा योगदान पुर्‍याउने बताइन् । उनले पर्यटन व्यवसायीलाई पत्रकार महिलाको साथ सदैव रहने विश्वास व्यक्त गरिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री