बौद्धमा टिपरको ठक्करबाट वृद्धको मृत्यु, फरार चालक काभ्रेबाट पक्राउ

काठमाडौं । संघीय राजधानी काठमाडौंको बौद्धमा गएराति तीव्र गतिको टिपरले ठक्कर दिँदा एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनालगत्तै टिपरसहित फरार भएका चालकलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-६, बौद्धस्थित रामहिटीमा गएराति करिब साढे ११ बजे बाटो हिँडिरहेका वृद्धलाई टिपरले ठक्कर दिएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार, बागमती प्रदेश-०१-००६ ख ५५०८ नम्बरको टिपरको ठक्करबाट करिब ६५ वर्षीय पुरुषको ज्यान गएको हो ।

मृतकको पहिचान भने खुल्न सकेको छैन र प्रहरीले उनको सनाखत गर्ने प्रयास गरिरहेको छ । ‘दुर्घटना गराएर चालक टिपरसहित भागेका थिए,’ एसपी गिरीले भने, ‘घटनालगत्तै हामीले खोजीकार्य तीव्र बनायौं र चालकलाई पक्राउ गर्न सफल भयौं ।’

दुर्घटनापछि फरार भएका चालक काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ निवासी २८ वर्षीय अजय श्रेष्ठलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री