कान्ति राजमार्गमा बन्यो बेलिब्रिज, यात्रामा सहज

काठमाडौं । बाढीले पुल बगाएपछि लामो समयदेखि अवरुद्ध कान्ति राजमार्गमा बेलिब्रिज जडान भएसँगै बिहानदेखि पुनः सञ्चालनमा आएको छ । मकवानपुर र ललितपुरलाई जोड्ने बागमती नदीको बगुवा खोलामा बेलिब्रिज जडान सम्पन्न भएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

आयोजनाका अनुसार गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि पुललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । गत वर्ष असोजमा आएको विनाशकारी बाढीले पुलको मकवानपुरतर्फको भाग बगाएपछि अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण रूपमा यातायात सञ्चालन हुँदै आएको थियो ।

सामान्य बाढीले समेत डाइभर्सन बगाउँदा पटक-पटक राजमार्ग अवरुद्ध हुँदा यात्रा कष्टकर र अनिश्चित बनेको थियो । बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो ।

आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी ३० टनभन्दा बढी भारका सवारी साधनलाई पुलमा प्रवेश गर्न नदिन र कडा निगरानी गर्न अनुरोध गरेको छ । आयोजनाका प्रवक्ता, इन्जिनियर उपेन्द्र महरानका अनुसार बेलिब्रिजको भारबहन क्षमता अधिकतम ३० टन मात्रै हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री