काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ । गत जेठ १५ गते धुलिखेलमा र जेठ १७ गते चितवनको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्धक बनाउन कम्पनीमा अतुलनीय योगदान दिएका अभिकर्ताहरूलाई विशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकी मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झा लाई आमन्त्रित गरिएको थियो । झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रुपमा भारतदेखि विश्वको विभिन्न देशहरूमा प्रख्यात छन् । भारतकै ठूलो र प्रतिष्ठित जीवन बिमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आबद्ध झाले थुप्रै कार्यानुभव र ख्याती कमाई सकेका छन् ।
यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही प्रशिक्षण प्रदान गरेका थिए । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए ।
यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यावसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रेरित गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा २ सय ४० भन्दा धेरै अभिकर्ताहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्त्व र अपरिहार्यता माथि प्रकाश पार्दै तालिमबाट सिकेका कुराहरूलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए । प्रस्तुत ज्ञान र सीपको उपयोग गरेर कम्पनीको व्यावसायिक लक्ष्य प्राप्तिमा दखल पुराउन सकिने बताए ।
साही कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृतले सीप विकास जस्ता तालिमले अभिकर्ताहरूलाई व्यवहारिक सीप र आत्मविश्वास प्रदान गर्ने भन्दै बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पुर्याउने र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने बताए ।




