बर्दघाटमा नबिल एसएसई कार्यक्रम, दुई चरणको कार्यक्रमबाट ७५ युवाले लिए उद्यमशीलता तालिम

काठमाडौं । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम’अन्तर्गत नवलपरासीको बर्दघाट २५ युवालाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

दिव्यज्योति बहुमुखी क्याम्पसमा दोस्रो चरणको ६ महिना लामो तालिममा सहभागी युवाहरूलाई प्रमाणपत्र उपलब्ध गराइएको हो । पश्चिम नवलपरासी-१ बाट निर्वाचित सांसद विनोद चौधरीले उनीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् । पहिलो चरणमा सोही क्याम्पसबाट ५० जना युवाले तालिम लिएर उद्यमशीलता सुरु गरिसकेका छन् ।

सांसद चौधरीले युवाहरूलाई आफूले तालिमबाट सिकेको सीप साथीहरूलाई पनि सिकाउन आग्रह गरे । ‘दिव्यज्योतिले ५० जना उद्यमी पहिला नै जन्माइसकेको छ । अब यी नयाँ भाइबहिनीहरूले के संकल्प गरेर जानुपर्छ भने म आफू मात्रै म सफल हुन्न,’ उनले भने, ‘इच वान टिच वान’ भन्ने सिद्धान्त अंगिकार गर्नुपर्छ । म मात्र हैन म अर्को पनि एउटा उद्यमी जन्माउँछु भन्ने मानसिकताका साथ आज तपाईंहरू यहाँबाट जानुभयो भने नबिलको यो कामले सार्थकता पाउँछ ।’

नेपालका प्रतिष्ठित उद्योगपतिसमेत रहेका सांसद चौधरीले उद्यमशील बन्न अनुशासन र आत्मविश्वास आवश्यक हुने बताए । ‘उद्यमशीलताले खोज्ने भनेको सबैभन्दा ठूलो कुरा अनुशासन हो । दोस्रो, आफूमाथि विश्वास गर्नु हो । यदि आफूमा आत्मविश्वास छ भने जस्तोसुकै कठिन समयमा पनि तपाईंले सफलता प्राप्त गर्न सक्नुहुन्छ,’ उनले भने ।

पछिल्लो समय नेपालमा केही पनि गर्न सम्भव छैन भन्दै युवाहरूमा निराशा बढेको आफूले पाएको उनको भनाइ थियो । ‘कहाँ नेपालमा गर्न सकिन्छ ? यहाँ गर्नै दिँदैन । सरकारले दु:ख दिन्छ । फलानाले दु:ख दिन्छ, यसले दु:ख दिन्छ, उसले दु:ख दिन्छ । त्यो मानसिकता बोक्ने मानिसले कहिले पनि केही गर्न सक्दैन,’ सांसद चौधरीको भने, ‘यस्तो निराशाका बीचमा म गर्छु भन्ने पनि मान्छेको एउटा ठूलै जमात छ देशमा । उहाँहरूले गरिराख्नुभएको छ ।’

नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रमले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्दै युवाहरूलाई स्वरोजगार बनाउने र सामाजिक समस्या समाधानमा टेवा पुर्‍याउने लक्ष्य लिएको नबिल बैंकले जनाएको छ ।

बैंकले यो कार्यक्रमअन्तर्गत देशभर विभिन्न शैक्षिक संस्थाहरूसँगको सहकार्यमा युवाहरूलाई उद्यमशीलताको तामिल दिँदै आएको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने नवीन उद्यमशील सोच भएका व्यक्तिलाई प्रोत्साहन गर्नु र उनीहरूको व्यावसायिक सपनालाई साकार पार्न सहयोग गर्ने कार्यक्रमको उद्देश्य छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री