काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालमै पहिलोपटक व्यवसायिक बैंकिङलाई डिजिटल, छिटो र सुरक्षित बनाउन ‘र्यापिड’ (RAPID) नामक एपीआई बैंकिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ। बैंकले गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो।
बैंकले जारी गरेको सूचनामा अनुसार ‘र्यापिड’ प्रणालीको प्रथम चरणमा व्यवसायिक ग्राहकको सहमतिमा ग्राहकको इआरपी (ERP) प्रणालीलाई बैंक खातासँग प्रत्यक्षरूपमा जोडिने व्यवस्था गरिएको छ। यसले प्रयोगकर्ताले इआरपी भित्रैबाट रियल टाइममा खाताको ब्यालेन्स जाँच गर्न, स्टेटमेन्ट हेर्न सक्ने सुविधा पाउनेछन्।
दोस्रो चरणमा बैंकले र्यापिड मार्फत आइएसओ २००२२, एमएफए (MFA), र ओअथर (OAuth) जस्ता प्रविधिको प्रयोग गरी भुक्तानी प्रारम्भ गर्न सकिने सुरक्षित एपीआई सेवा ल्याउने जनाएको छ। यस सेवाबाट बहु हस्ताक्षर व्यवस्था, क्यूआर र कार्डमार्फत गरिएका भुक्तानीको विस्तृत विवरण प्राप्त गर्ने, कर्मचारी तलब भुक्तानी स्वचालित गर्ने, खाताबीच र अन्तर बैंक रकमान्तर गर्ने, अनलाइन खाता खोल्ने जस्ता सेवा उपलब्ध हुनेछन्।
प्रणालीमा प्रत्येक महत्त्वपूर्ण कार्यका लागि टीओटीपी (TOTP) आधारित पासकोड प्रयोग गरेर सुरक्षा सुनिश्चित गरिनेछ भने सबै डेटा पीकेआई प्रविधिबाट इन्क्रिप्ट गरिने बैंकले स्पष्ट पारेको छ।
सिटिजन्स बैंकले ‘र्यापिड’ प्रणालीले ग्राहकलाई आत्मनिर्भर, सटीक र सुरक्षित कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ। व्यवसायिक कारोबारमा डिजिटल रुपान्तरणलाई सघाउँदै बैंकले आफ्ना ग्राहकलाई प्रविधिमा आधारित उत्कृष्ट सेवा दिने लक्ष्य राखेको छ।




