विश्व कीर्तिमानको शिखरमा फेरि कामीरिता, ३१औँ पटक सगरमाथाको आरोहण

काठमाडौँ । नेपाली पर्वतारोहणको गौरव ५५ वर्षीय कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमानलाई तोड्दै मंगलबार बिहान ३१औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यो उपलब्धिसँगै उनी सगरमाथामा सबैभन्दा धेरै पटक पाइला टेक्ने संसारकै एक्लो आरोहीको रूपमा आफ्नो स्थान अझ मजबुत बनाएका छन् ।

गत वर्ष मात्रै कामीरिताले २०८१ साल वैशाख ३० गते २९औँ पटक र त्यसको दश दिनपछि जेठ ९ गते ३०औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए । यसपटकको आरोहणसँगै उनले पर्वतारोहणको इतिहासमा अर्को सुनौलो अध्याय थपेका छन् ।

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ”एभरेष्ट म्यान’ले फेरि गर्‍यो चमत्कार ! ३१औँ पटक सगरमाथा आरोहण । इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औँ पटकको सफल आरोहणका लागि बधाई । सेभेन समिटसँगको यात्रामा ।’

कामीरिताले मंगलबार बिहान ४ बजे सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा यसपटक सगरमाथा आरोहणमा गएका थिए । सफल आरोहणपछि उनी बुधबार बिहानसम्ममा ५२०० मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरसम्म फर्किने अपेक्षा गरिएको छ । त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौँ फर्किने उनको तालिका रहेको छ ।

सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिता १२ वर्षको कलिलो उमेरदेखि नै हिमाल आरोहण क्षेत्रमा होमिएका थिए । उनले २४ वर्षको उमेरमा वि.सं. २०५१ सालमा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता उनको पर्वतारोहण यात्रा निरन्तर जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री