काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् । नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले दिएको जानकारी अनुसार, तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
डीएसपी नेपालका अनुसार, दुर्घटनामा परी मध्यविन्दु नगरपालिका-७, चोरमारा निवासी २४ वर्षीय नवीन कुमाल र सोही स्थानका २२ वर्षीय रादिम मिधुनको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरूलाई दुर्घटनालगत्तै उद्धार गरी अस्पताल पुर्याइए पनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ घर भई हाल चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ ।
घटना मंगलबार बिहान करिब ६ बजेतिर मध्यविन्दु नगरपालिका-७, अम्रसा जङ्गलको भित्री सडक खण्डमा भएको हो । अम्रराबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको साइन मोटरसाइकल दुर्घटनामा परेको थियो ।



