पशु कल्याण ऐन दुई महिनाभित्र जारी गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता, सरोकारवालाद्वारा शीघ्र निर्माणमा जोड

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले आगामी दुई महिनाभित्र पशु कल्याण ऐन जारी गरिसक्ने महत्वपूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पशु कल्याणकारी संस्था स्नेहाज केयरको आयोजना र नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको सहआयोजनामा शुक्रबार ललितपुरको पुल्चोकमा सम्पन्न “नेपालमा पशु कल्याणको वर्तमान अवस्था तथा पशु कल्याणको आवश्यकता र महत्व” विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

कार्यक्रममा संघीय संसद सचिवालय अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सांसदहरू, ललितपुर महानगरपालिकाका मेयर, मन्त्रालय तथा अन्तर्गतका पदाधिकारीहरू, कानुन व्यवसायी, पशु अधिकारकर्मी लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य नेपालमा पशु कल्याणको वर्तमान अवस्था, पशु कल्याण ऐनको आवश्यकता र महत्वबारे छलफल गर्दै उक्त ऐनलाई चाँडोभन्दा चाँडो संसदमा पेश गरी पारित गराउन पहल गर्नु रहेको थियो ।

विश्वका विभिन्न देशहरूमा पशु कल्याण सम्बन्धी कानुन धेरै पहिले नै निर्माण भई लागू भइसकेको र छिमेकी देश भारतले समेत सन् १९६० मा पशु कल्याण ऐन निर्माण गरी १९६२ मा पशु कल्याण बोर्ड नै स्थापना गरिसकेको सन्दर्भमा नेपालमा समेत जनावरहरूमाथि हुने निर्दयी व्यवहार रोक्न र पशु कल्याण प्रवर्द्धनका लागि छुट्टै कानुनी आधार अत्यावश्यक रहेकोमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए । नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/०८/०२ मा सैद्धान्तिक सहमति प्राप्त भई उक्त ऐनको मस्यौदा विधेयकको रूपमा छलफलमा रहेको छ ।

कार्यक्रममा स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले “नेपालमा पशु कल्याण: आवश्यकता र महत्व” विषयमा प्रस्तुतीकरण गर्दै नेपालमा पशु कल्याणको वर्तमान अवस्था, प्रस्तावित ऐन, यसको महत्व र आवश्यकता तथा संस्थाले गरेका क्रियाकलापबारे प्रकाश पार्नुभयो । उहाँले पशु कल्याण ऐन अभियन्ताहरूका लागि बहुप्रतिक्षित दस्तावेज भएकोले यसलाई चाँडो पारित गरी लागू गर्नुपर्ने र समयसापेक्ष संशोधन गर्दै जानुपर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले “नेपालमा पशु कल्याण कानुन र अदालत” विषयमा प्रस्तुति दिँदै पशु कल्याण ऐनलाई एकीकृत कानुनको रूपमा नभई छुट्टै र विशिष्ट कानुनको रूपमा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सर्वोच्च अदालतबाट भएका परमादेशहरूको मर्मबमोजिम पनि छुट्टै पशु कल्याण ऐन आवश्यक रहेको औंल्याउनुभयो ।

कार्यक्रममा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सदस्य बिजुला रायमाझीले पशु कल्याणको विषय अत्यन्त महत्वपूर्ण रहेकोले सबै प्राणीहरूको बाँच्ने अधिकार सुनिश्चित गर्ने गरी समितिमा दफावार छलफल गरिने र त्यसमा आफूले भरपूर प्रयत्न गर्ने बताउनुभयो । अर्का सदस्य रञ्जिता श्रेष्ठले जनावरहरूको लागि बोलिदिने कोही नभएकोले पशु कल्याण ऐन निर्माण गर्ने कार्यमा आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्नेहाज केयरसँग पशु कल्याणका लागि निकट सहकार्य रहेको र नेपालमै पहिलोपटक ललितपुर महानगरपालिकाले भेटेरिनरी एम्बुलेन्स समेत प्रदान गरेको स्मरण गराउँदै संघीय पशु कल्याण ऐन जारी भएपछिको लगत्तैको हिउँदे वा वर्षे अधिवेशनबाट स्थानीय पशु कल्याण ऐन जारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलका अध्यक्ष एवं पूर्व सचिव डा. योगेन्द्र कुमार कार्कीले नेपाल पशु कल्याणका क्षेत्रमा विश्वका अन्य देशहरूभन्दा २०० वर्ष पछाडि रहेको र छिमेकी भारतबाट धेरै सिक्नुपर्ने बताउँदै कानुन निर्माणमा नेपाल सरकारको उदासीनता देखिएको टिप्पणी गर्नुभयो । उहाँले कर्मचारी संयन्त्र समेत कानुन निर्माणमा कहिले अघि कहिले पछि गर्ने गरेकोले सबैले प्रतिबद्ध भएर कानुन निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

उक्त अन्तर्क्रिया कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री, सांसदहरू, मन्त्रालय तथा विभागका पदाधिकारीहरू, नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष, पशु सेवा विभागका पूर्व महानिर्देशक, कानुन व्यवसायी, पशु अधिकारकर्मी तथा संघीय संसद सचिवालयका कर्मचारीसहित ४५ जनाको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री