देउवाको कमैया मुक्ति प्रयासको स्मरण गर्दै मुख्यमन्त्री शाहले भने- अधिकार दिए तीन वर्षमा भूमि समस्या समाधान गर्छौं

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले हलिया, कमैया र कमलरीहरुको मुक्ति तथा उनीहरुको उचित व्यवस्थापनमा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलेको ऐतिहासिक भूमिकाको स्मरण गर्नुभएको छ। डडेल्धुराको परशुराम नगरपालिका वडा नं. १२ अन्तर्गतका अव्यवस्थित बसोवासीहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण तथा वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सभापति देउवाको योगदानको चर्चा गर्नुभएको हो।

उहाँले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले वि.सं. २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा गरेको ऐतिहासिक दिनलाई स्मरण गराउनुभयो। उक्त घोषणाले सदियौंदेखि दासताको जीवन बिताइरहेका हजारौं कमैयाहरूलाई मुक्तिको सास फेर्न मद्दत पुर्‍याएको थियो।

कार्यक्रममा मुख्यमन्त्री शाहले संघीय सरकारले प्रदेश सरकारलाई भूमि सम्बन्धी सम्पूर्ण अधिकार प्रत्यायोजन गरेमा आगामी तीन वर्षभित्र प्रदेशभित्रका सम्पूर्ण भूमिहीन तथा अव्यवस्थित बसोवासीहरूको समस्या समाधान गर्ने दृढता व्यक्त गर्नुभयो। “यदि संघले हामीलाई पूर्ण अधिकार दिन्छ भने, हामी तीन वर्षभित्र यो प्रदेशबाट भूमि सम्बन्धी समस्यालाई सदाका लागि अन्त्य गर्नेछौं,” मुख्यमन्त्री शाहले भन्नुभयो।

जग्गाधनी पुर्जा वितरण कार्यक्रम परशुराम नगरपालिकाका नगर प्रमुख भरत जोशीको सभापतित्वमा जोगबुडा अस्पतालको सभाहलमा सम्पन्न भएको थियो। भूमि समस्या समाधान आयोग जिल्ला समिति डडेल्धुराको समन्वयमा नगरपालिकाले उक्त वडाका ६४ जना अव्यवस्थित बसोवासीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

कार्यक्रममा प्रदेशका कृषि मन्त्री वीर बहादुर थापा, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्ट लगायत प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो।

यसैबीच, मुख्यमन्त्री कमल बहादुर शाहले डडेल्धुराकै परशुराम नगरपालिकामा रहेको श्री जनज्योति माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिदिन अनुरोध गर्दै मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउनुभएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री