टेलिकमको मुनाफा झन्डै ५० प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमको आ.व. २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) मा कुल आय र मुनाफामा उल्लेखनीय गिरावट देखिएको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार टेलिकमको कुल सञ्चालन आय रु. २५ अर्ब ३१ करोडमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.६४ प्रतिशतले घटेको हो।

उक्त अवधिमा कम्पनीको कुल आय रु. २८ अर्ब ४३ करोडमा सीमित रहँदा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.८९ प्रतिशतको गिरावट आएको छ। साथै, कम्पनीको खुद मुनाफा झन्डै ५० प्रतिशतले घटेर रु. २ अर्ब ८४ करोडमा झरेको छ। अघिल्लो वर्ष सोही अवधिमा खुद मुनाफा रु. ५ अर्ब ५३ करोड थियो।

यद्यपि कर अघिको मुनाफा भने १६.८२ प्रतिशतले वृद्धि भई रु. ८ अर्ब ६२ करोड पुगेको छ। त्यस्तै, EBITDA पनि ५.८९ प्रतिशतले वृद्धि भई रु. १४ अर्ब १९ करोड रहेको छ।

मुनाफामा आएको तीव्र गिरावटका प्रमुख कारणहरूमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय कल आयमा आएको गिरावट, कर्मचारी निवृत्तिभरण व्यवस्थाका लागि छुट्याइएको उच्च रकम, घट्दो ब्याज दरका कारण व्याज आयमा आएको कमी, वाईफाई सेवाबाट मोबाइल डेटा प्रयोगमा आएको कमी, दररेटमा सरकारी नीतिगत परिवर्तन लगायत रहेका छन्।

त्यस्तै, लेखा मान्यताअनुसार पेन्सन योजनाको व्यवस्थापन र पुराना कानुनी मुद्दाहरूको असर समेत चालु आ.व.मा परेको टेलिकमले जनाएको छ। प्रति शेयर आम्दानी वार्षिक आधारमा रु. २१.०५ कायम भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप