३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ–टेरोन ९’, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालको विद्युतीय सवारी क्षेत्रमा नयाँ इतिहास रच्दै ‘म्याक्सस इ–टेरोन ९’ लक्जरी इलेक्ट्रिक पिकअप ३५१९ मिटर उचाइमा सार्वजनिक गरिएको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले यो पिकअप मनाङको विकट भौगोलिक स्थानमा आयोजना गरिएको विशेष समारोहबीच सार्वजनिक गरेको हो।

मनाङको कठोर हिमाली भूगोलमा सफल परीक्षण र प्रदर्शनसँगै कम्पनीले यो पिकअप देशका जस्तोसुकै कठिन भू–भागमा पनि चल्नसक्ने क्षमताको पुष्टि गरेको छ। यो नेपालमै पहिलो पटक यस्तो उचाइमा लक्जरी इलेक्ट्रिक पिकअप सार्वजनिक गरिएको उदाहरण हो। कार्यक्रममार्फत एडप्टिभ एअर सस्पेन्सन प्रविधिको समेत सफल प्रदर्शन गरिएको थियो।

‘म्याक्सस इ–टेरोन ९’ मा डुअल मोटर फोरह्विल ड्राइभ (125 kW अगाडि, 200 kW पछाडि) प्रणाली जडान गरिएको छ। यसले ७०० Nm टर्क उत्पन्न गर्दै ०–१०० किलोमिटर प्रतिघण्टा गति केवल ५.८ सेकेन्डमा पुर्‍याउन सक्छ। अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको यो पिकअपमा १०२.२ kWh LFP ब्याट्री जडान छ, जसले ५६० किलोमिटर (NEDC) सम्मको दायरा प्रदान गर्छ। फास्ट चार्जिङमार्फत २०–८० प्रतिशत चार्ज केवल ४२ मिनेटमा गर्न सकिन्छ।

यो पिकअपमा २६० मिमी ग्राउन्ड क्लियरेन्स, विभिन्न ड्राइभ मोडहरू, हिटेड र म्यासेज फिचर सहितका टू–टोन लेदर सिट, डुअल १२.३ इन्च डिजिटल डिस्प्ले, प्यानोरामिक सनरुफ, ९ एयरब्यागसहित २०+ सुरक्षा प्रविधिहरू छन्। सुरक्षा पक्षमा यो पिकअपले यूरो NCAP को ५–स्टार रेटिङ प्राप्त गरिसकेको छ।

नेपालमै पहिलोपटक यस्तो प्रविधि, शक्ति र आरामको संगम बोकेको इलेक्ट्रिक पिकअप सार्वजनिक भएको भन्दै कम्पनीले प्रारम्भिक बुकिङ गर्नेहरूका लागि यसको मूल्य रु. ९९,९९,००० कायम गरिएको जानकारी दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप