महेशराजको ‘देश विदेश’ नियात्रा संग्रह लोकार्पण

काठमाडौं । काभ्रेपलाञ्चोकको खरेलथोकस्थित ऐतिहासिक तथा धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिर परिसरमा भव्य समारोहका साथ खरेल वंशीयहरुको बृहत् भेला सम्पन्न भएको छ । नेपालका विभिन्न प्रदेश तथा भारतका विभिन्न स्थानबाट आएका खरेल वंशका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रममा पलाञ्चोक भगवतीको दर्शनसहित कुल मन्दिर परिभ्रमण गरिएको थियो ।

कार्यक्रमको उद्देश्य खरेल वंशका सम्पूर्ण सदस्यहरूबीच आपसी सम्बन्ध, सद्भाव, सहकार्य र संगठनात्मक एकता सुदृढ गर्नु रहेको आयोजकहरूले बताएका छन् । सिक्किम, सिलगुडी, दार्जिलिङ्ग, चितवन, मधेश प्रदेश, काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानबाट सहभागी खरेलहरुलाई खरेलथोकका स्थानीय खरेल समुदायले पञ्चेबाजा, फूलमाला र रातो रिबनसहित परम्परागत स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख आकर्षणमध्ये एक, वरिष्ठ लेखक महेशराज खरेलद्वारा लिखित नियात्रा कृति “देश विदेश” को लोकार्पण पनि सोही अवसरमा सम्पन्न भयो। पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रमुख आतिथ्य, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलको अध्यक्षता र पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेलको सञ्चालनमा कार्यक्रम भव्यरूपमा अघि बढाइएको थियो।

लोकार्पण मन्तव्यका क्रममा अच्युतकृष्ण खरेलले भने, “सिर्जना मानिसको मनबाट निस्कने अनुपम कला हो, जुन सबैमा हुँदैन। महेशराज खरेलको यस कृतिले देश र विदेशका अनुभूतिहरूलाई साझा गरेर पाठकलाई एक नयाँ अनुभूतिमा पुर्‍याउनेछ।”

लेखक महेशराज खरेलले आफ्नो नियात्रा संग्रहको परिचय दिंदै नेपालका कोना–कोनाबाट विदेशसम्मका अनुभवहरु समेटिएको जानकारी गराए। ताप्लेजुङको पाथीभरा, सगरमाथा क्षेत्र, रारा ताल, सिमिकोट, डडेल्धुरा, बैतडी, दार्चुला, भारतको नैनीताल, मसुरी हुँदै थाइल्याण्डसम्मको वर्णन यस कृतिमा रहेको उनले बताए। उनले भने, “यात्रा सबैले गर्छन्, तर त्यसको उद्देश्य, दायरा र अनुभूति फरक हुन्छ। यो कृति यात्रामार्फत जीवनको गहिरो दर्शन प्रस्तुत गर्न प्रयास गरिएको दस्तावेज हो।”

यस पुस्तकको भूमिका वरिष्ठ समालोचक प्रा.डा. हेमनाथ पौडेलले लेखेका छन्। कार्यक्रममा वशिष्ठ आश्रम खरेल प्रवर्धन समितिका महासचिव विष्णु खरेल, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली खरेललगायत विशिष्ट व्यक्तिहरूको मन्तव्य रहेको थियो।

पाँचखाल नगरपालिकाका मेयर तथा कार्यक्रमका सभापति महेश खरेलले भने, “नियात्रा कृतिले भौगोलिक र सांस्कृतिक विविधता मात्रै होइन, व्यक्तिगत अनुभूतिहरूको अभिव्यक्तिसमेत गर्दछ। महेशराज खरेलको यो कृति पाठकमाझ लोकप्रिय हुने विश्वास लिएको छु।”

भेलाले खरेल वंशीयहरूको साझा संगठन निर्माण गर्ने निर्णय गर्दै प्रत्येक वर्ष वैशाख २७ गते “खरेल डे” का रूपमा मनाउने ऐतिहासिक घोषणासमेत गरेको छ। भेलाले एकता, सद्भाव र सहकार्यलाई संस्थागत बनाउने केही महत्वपूर्ण प्रस्तावहरू पनि पारित गरेको थियो।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, पूर्व प्रहरी नायव महानिरीक्षक रमेश खरेल, लेखक शेखर खरेल, न्यायाधीश राजेन्द्र प्रसाद खरेल, ब्रिगेडियर विनोद खरेल, डा. निशान्त खरेल, गायक दीपक खरेललगायत देश–विदेशमा स्थापित खरेल वंशका प्रतिष्ठित ३५० जना भन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री