काठमाडौं । सुत्केरी व्यथाले च्यापेकी सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया पुष्पा बोहरा भण्डारीको सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नदेखिएपछि उनलाई प्रादेशिक अस्पताल, सुर्खेतमा रिफर गरिएको हो।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. प्रतीक्षा भारतीका अनुसार भण्डारीलाई सुत्केरी हुन अझै डेढ महिना बाँकी भए पनि आइतबारदेखि उच्च रक्तचापसहित प्रसव पीडा देखिएको थियो। जाँचका क्रममा बच्चाको अवस्था असामान्य भेटिएपछि तत्काल शल्यक्रिया आवश्यक भएकाले सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गरिएको हो।
“बच्चाको टाउकोको साटो साल अगाडि आएको थियो र बच्चाको अवस्थितिले सामान्य ढंगले जन्म दिन सकिने सम्भावना थिएन,” प्रमुख भारतीले भनिन्, “उपयुक्त उपकरण र दक्ष जनशक्ति अभावका कारण सिमकोटमा उपचार सम्भव नभएपछि उद्धार गरिएको हो।”
जिल्ला अस्पतालको सिफारिसमा, सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासनको समन्वयमा, राष्ट्रपति महिला उत्थान कोष अन्तर्गत सञ्चालित कार्यक्रममार्फत उद्धार सम्पन्न भएको हो। नेपाली सेनाको हेलिकोप्टरले उनलाई आज बिहान सुर्खेत पुर्याएको हो।
हाल भण्डारीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। पछिल्ला वर्षहरूमा सुत्केरी व्यथाले च्यापिएका महिलाहरूको ज्यान जोगाउन हेलिकोप्टर उद्धार कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको छ। जनशक्ति र पूर्वाधार अभावका बीच यो कार्यक्रम दुर्गम जिल्लाका महिलाहरूका लागि जीवनरक्षक उपाय बनेको छ।




