मुख्यमन्त्री शाहको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकारको टोली दिल्ली प्रस्थान

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली भारत भ्रमणमा निस्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टोली दिल्लीका लागि प्रस्थान गरेको हो ।

नेपालमा प्रदेश सरकारको तर्फबाट भारत सरकारको औपचारिक निमन्त्रणामा पहिलो पटक गरिएको यो भ्रमणले द्विपक्षीय सम्बन्ध र अन्तरप्रदेशीय सहकार्यलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

मुख्यमन्त्री शाहका अनुसार टोलीले दिल्लीमा संघीय मन्त्रीहरूसँग भेटघाट गर्ने, विवेकानन्द अन्तर्राष्ट्रिय फाउण्डेसन संघसँग अन्तरक्रिया गर्ने, उत्तरप्रदेश तथा उत्तराखण्डका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा भारतीय कृषि अनुसन्धान संस्था, देहरादुनका कृषि र पर्यटकीय क्षेत्र, अयोध्याको धार्मिक क्षेत्रको अवलोकनका साथै उत्तराखण्डका मुख्यमन्त्री र कृषि मन्त्रीसँग भेटघाट पनि तय गरिएको प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शाहको नेतृत्वमा गएको भ्रमण टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय तथा स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन् ।

भ्रमण पश्चात टोली आगामी वैशाख २२ गते लखनउबाट स्थलमार्ग हुँदै कैलाली फर्किने कार्यक्रम तय गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री