अस्पतालको तेस्रो तलाबाट हामफाल्दा मिर्गौला पीडितको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफाल्दा ज्यान गएको छ। मिर्गौला पीडित सिंह पछिल्लो समय अस्पतालमै डायलासिस गराइरहेका थिए।

मंगलबार दिउँसो २ बजेपछि उनले अस्पतालको तेस्रो तलाबाट एक्कासि हामफालेका थिए। उनलाई तुरुन्तै अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठका अनुसार सिंह सोमबार डायलासिस गर्न अस्पताल आएका थिए। चिकित्सकको सल्लाहमा उनलाई मेडिकल वार्डमा भर्ना गरिएको थियो। श्रीमती ईश्वरीदेवी सिंह उनको कुरुवाका रूपमा अस्पतालमै थिइन्। एकछिन बाहिर जान्छु भन्दै वार्डबाट निस्किएका सिंह केही समयमै अस्पतालको तेस्रो तलाबाट हामफालेको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए।

दीर्घकालीन रोगको उपचार गराइरहेका सिंहको मानसिक अवस्था र आत्मबल कमजोर भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। अस्पताल प्रशासन र सुरक्षापक्षले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री