शिक्षक महासंघ अध्यक्ष सुवेदीको असहमति : शिक्षामन्त्रीसँगको वार्ताबाट पछि हटे

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीको निमन्त्रणामा बोलाइएको वार्तामा सहभागी नहुने निर्णय गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावलीप्रति असहमति जनाउँदै महासंघले वार्ता प्रक्रिया बहिष्कार गरेको हो।

सामाजिक सञ्जालमार्फत सुवेदीले जानकारी दिँदै भनेका छन्, “आज मिति ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने तयारीमा थियौँ, तर विशेष कारणवश मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं।”

महासंघको दाबी अनुसार मन्त्रालयले सार्वजनिक गरेको वार्ता टोलीको नामावली महासंघले नै तयार नगरेको हो। यसै कारण संस्थाले त्यसप्रति असहमति जनाउँदै वार्तामा भाग नलिने निर्णय गरेको हो।

यसअघि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षामन्त्रीले वार्ताका लागि बोलाएको र आफूहरू सल्लाह गरेर सहभागी हुने जानकारी दिएकी थिइन्। “भर्खर सडकको कार्यक्रम सकियो, अहिले पनि हामी सडकमै छौँ,” उनले भनिन्, “शिक्षामन्त्रीले बोलाउनुभएको छ, सल्लाह गरेर भेट्न जान्छौँ।”

तर अन्ततः महासंघको आधिकारिक टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। यसले सरकार र शिक्षकबीचको वार्ताप्रक्रिया तत्कालका लागि अन्योलमा परेको देखिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री