काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक कोष (पुल) सञ्चालनसम्बन्धी निर्देशन, २०८१ मा नेपाल बीमा प्राधिकरणले दोस्रोपटक संशोधन गरेको छ। वैशाख ५ गते गरिएको यो संशोधनमार्फत बीमा कम्पनीहरूको कार्यप्रणाली थप लचिलो र स्पष्ट बनाइएको छ।
पहिलोपटक २०८१ सालको फागुन ६ गते संशोधन गरिएको निर्देशनमा यसपटक महत्वपूर्ण व्यवस्थाहरू परिमार्जन गरिएको प्राधिकरणले जनाएको छ। अबदेखि बीमा कम्पनी (बीमक)हरूले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको विवरण कोष प्रबन्धकलाई दैनिक रूपमा पेश गर्नुपर्ने व्यवस्था हटाइएको छ।
नयाँ संशोधनअनुसार, प्रत्येक महिनाको १५ गतेसम्म जारी भएका बीमालेखहरूको विवरण १६ गतेभित्र, र त्यसपछिका विवरण आगामी महिनाको पहिलो दिनभित्र कोष प्रबन्धकसमक्ष पेश गर्न सकिनेछ।
यस्तै, दाबी बापतको भुक्तानीसम्बन्धी विवरण पनि अब दुई चरणमा पेश गर्न सकिनेछ — १५ गतेसम्मको विवरण १६ गतेभित्र र १६ देखि मसान्तसम्मको विवरण अर्को महिनाको १ गतेभित्र पेश गर्न सकिनेछ। अघिल्लो निर्देशनले यो विवरण प्रत्येक महिनाको सात गतेभित्र पेश गर्नुपर्ने भनेको थियो।
निर्देशनको परिच्छेद २ को उपदफा ६ (ख) मा गरिएको संशोधनअनुसार, अब कोष प्रबन्धकले बीमा शुल्क प्राप्त भएको नपाएको अवस्था ‘दैनिक’ रूपमा होइन, तर समग्र रूपमा यकिन गर्न सक्नेछन्। यसअघिको संस्करणमा ‘दैनिक’ निगरानीको व्यवस्था गरिएको थियो।
परिच्छेद २ को ९(२) मा सदस्यता खारेजीसम्बन्धी व्यवस्था गरिएको छ। निर्देशनको उल्लंघन गर्ने, सूचीकृत नभएका वा सदस्यता खारेज भएका बीमकले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न नपाउने उल्लेख गरिएको छ।
त्यस्तै, अब ‘सदस्य बीमक’ भन्नाले अनुसूची–१ बमोजिम हिस्सेदार भई कोषमा आबद्ध भएका बीमकहरूलाई जनाउने भन्ने स्पष्ट परिभाषा दिइएको छ। यसअघि यस्तो स्पष्ट व्याख्या थिएन।
संशोधनअनुसार अब निर्देशनको अनुसूची परिमार्जन गर्ने अधिकार प्राधिकरणका अध्यक्षलाई दिइएको छ। अघिल्लो निर्देशनमा यस्तो अधिकार तोकिएको थिएन।
यस संशोधनले वैदेशिक रोजगार बीमा प्रणालीमा पारदर्शिता, कार्यकुशलता र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ। बीमकहरूको कार्यदायित्व स्पष्ट हुनुका साथै विवरण प्रस्तुत गर्ने प्रक्रियामा लचकता आउँदा, प्रणाली अझ व्यवस्थित बन्ने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।




