काठमाडौँ । मुटुको कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मांसपेशीले काम गर्न नसक्नु हृदयघात हो। हृदयघात उक्त भागको मृत्युसमेत हुनु हो। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
जाडो मौसममा बढी निष्क्रिय जीवनशैली हुन्छ। त्यसकारण मुटुरोगका बिरामीका लागि हृदयघातको उच्च जोखिम हुने गर्छ। चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुन्छ। अनि हृदयघातको जोखिम हुन्छ।
चिसोमा कहिलेकाहीँ अचानक रक्तचाप बढ्ने भएकाले नसा फुटेर हृदयघात हुने गर्छ। जाडोमा हृदयघात हुनुको अर्को प्रमुख कारण हर्मोनको गडवढी पनि हो। शरीरमा रहेका विभिन्न हर्मोन बिहानीपख बढी सक्रिय रहने हुन्छ। जसकारण पनि हृदयघात हुन्छ।
सामान्यतया हृदयघातको लक्षण थाहा नै हुँदैन। व्यक्तिपिच्छे फरक–फरक लक्षण देखा पर्न सक्छ। छाती दुख्नु, कमजोरी महसुस हुनु, बंगरा दुख्नु, दम बढ्नु, स्वाँ स्वाँ हुनुजस्ता लक्षण हृदयघात हुनुअघि देखिन्छ।
कसैकसैमा पेट दुख्ने, मुटु ढुकढुक हुने, बेहोस हुने जस्ता समस्या देखिन्छ। यस्ता लक्षण देखा पर्न थालेमा तुरुन्त चिकित्सककहाँ जानुपर्छ।



