काठमाडाैँ । मुलुकमा सोमबार अचानक मौसम बदली भयो । कारण थियो– फेथाई । बंगालको खाडीमा विकसित सामुद्रिक चक्रवात हो फेथाई । जसको प्रभावले नेपालमा हल्का वर्षा र उच्च भागमा हिमपात हुने मौसमविद्को अनुमान छ। यो खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।
मौसम बदलीसँगै देशैभर चीसो बढेको छ । आइतबार काठमाडौंमा ३.४ डिग्री सेल्सियस रहेको तापक्रम सोमबार २.५ मा झर्यो । जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसम्म पुगेको छ।
फेथाई नामक चक्रवातको बाहिरी घेराबाट जलवाष्पयुक्त बादल नेपालतिर सरेपछि बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका विज्ञ बरुणपौडेलले बताए ।
‘फेथाई’ उत्तर–पश्चिम दिशातर्फ सरिरहेको छ । ‘यसको प्रभाव मंगलबार रातिसम्मै हुने अनुमान छ,’ मौसमविद् मञ्जु बासीले भनिन्, ‘पूर्वदेखि पश्चिम भागसम्मै असर छ।’
पौडेलका अनुसार नेपाल चक्रवातको घेराभन्दा धेरै दूरीमा छ । ‘तर पनि जलवाष्पयुक्त बादलका कारण एकैपटक देशैभर असर गरेको छ,’ उनले भने, ‘यो आंशिक प्रभाव मात्र हो।’
यसअघि सन् २०१४ मा आएको ‘हुदहुद’ले अन्नपूर्ण संरक्षण क्षेत्रमा ठूलो मानवीय क्षति भएको थियो । सन् २०१८ को अक्टोबरमा लुबान र नोभेम्बरमा गाजा नामक चक्रवात आएको थियो।
तिनले भने सामान्य बदली हुनेबाहेक क्षति गरेनन् । सन् २०१७ मा मोरा र रोआनु तथा सन् २०१६ मा नाडा र क्यान्ट नामका चक्रवात आएका थिए।
के हो फेथाई?
मौसमविद्का अनुसार बंगालको खाडीमा बर्सेनि प्रि–मनसुन र हिउँदयाममा चक्रवात आउने गरेको छ।
विश्व मौसम संगठनले सामुद्रिक तटीय क्षेत्र भएका मुलुकलाई चक्रवातको नाम प्रस्ताव गर्न आग्रह गर्छ । त्यसअनुसार असर पर्ने मुलुकले नाम दिने चलन छ।
नाम दिँदा आफ्नो देशको चर्चित कुनै वस्तुको नाम प्रस्ताव गरिन्छ । विभिन्न देशबाट प्रस्तावित नाम आलोपालो गरी संगठनले घोषणा गर्छ।




