कामदारको परिश्रमबाट मुलुक समृद्धिमा: पधानमन्त्री

काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस–२०१८ का अवसरमा मंगलबार एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नेपाल नवीन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।

“देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्का क्रियाशील हुनुपर्दछ, आर्थिक समृद्धिका लागि श्रमिकको योगदान अपरिहार्य छ,” उनले सन्देशमा भनेका छन्, “नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको छ भने योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनको चरणमा छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसैको एउटा उदाहरण हो । ”

बर्सेनि लाखौँ नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

“स्वदेशमा आकर्षक रोजगारीका अवसर सृजना गरेर स्वदेशमै गरिखाने वातावरण तयार गर्न सरकार दृढतापूर्वक क्रियाशील रहेको छ,” सन्देशमा उल्लेख छ ।

संयुक्त राष्ट्र सङ्घले १८ डिसेम्बर १९९० मा पारित गरेको आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धिको नेपाल पक्ष राष्ट्र भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आप्रवासी कामदारको हकअधिकार सुरक्षा र संरक्षणमा सरकार गम्भीर रहेको उल्लेख गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री