काठमाडौं । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गए राति भएको भीषण आगलागीका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रारम्भिक राहतस्वरूप ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकपछि मुख्यमन्त्री कमलबहादुर शाहले उक्त निर्णयको जानकारी गराएका हुन्। उनले पीडित परिवार तथा व्यवसायीलाई तत्काल मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै, क्षतिको विस्तृत विवरण आएपछि थप राहतको व्यवस्था गरिने पनि बताए।
मुख्यमन्त्री शाहले आगलागीबाट प्रभावितहरूलाई राहत र पुनर्निर्माणका लागि स्थानीय तह, नेपाल सरकार, विभिन्न संघसंस्था तथा दातृ निकायसँग सहकार्य गर्न अपिल गरेका छन्।
यसबीच, आगलागी प्रभावित क्षेत्रको यथार्थ बुझ्न प्रदेश सरकारले सामाजिक विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई घटनास्थलमा खटाएको छ।
प्राप्त विवरणअनुसार, मंगलसैनबाट उत्तरपूर्वी दिशामा पर्ने जयगढ बजारमा राति लागेको आगोले दशवटा कच्ची घर, १५ टिनका टहरा, दुई पक्की घर र एक सभाहल पूर्ण रूपमा नष्ट गरेको छ। अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार तीमध्ये ११ घरमा व्यवसाय सञ्चालन भइरहेका थिए।
स्थानीय पुष्पराज शर्माले सञ्चालन गर्दै आएको आइएमई केन्द्रमा राखिएको ग्यास सिलिन्डर विस्फोट हुँदा आगो फैलिएको बताइएको छ। साँझ सुरु भएको आगलागी राति १ः३० बजेतिर मात्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा नियन्त्रणमा ल्याइएको थियो। प्रजिअ सारुका अनुसार आगलागीबाट करिब ७ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।




