अब ‘लोडसेडिङ’ हुँदैन, उज्यालोको यात्रा : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर लोडसेडिङको युग समाप्त भएको घोषणा गरेका छन्। रसुवामा निर्माण सम्पन्न भएको ७८ मेगावाट क्षमताको साञ्जेनखोला जलविद्युत् आयोजना उद्घाटन गर्दै उनले अब नागरिकले लोडसेडिङको सास्ती भोग्नु नपर्ने स्पष्ट पारे।

मन्त्री खड्काले २४ घण्टा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। “लोडसेडिङ हुने हल्लाको पछि नलाग्नुस्,” उनले भने, “सरकार नागरिक र उद्योगका हरेक कुनामा उज्यालो पुर्‍याउन दृढ छ।”

प्राधिकरणलाई ऊर्जा क्षेत्रमा सुधार ल्याएर पारदर्शिता कायम गर्दै काम गर्न निर्देशन दिँदै मन्त्री खड्काले देशमा ऊर्जा सुरक्षाका लागि आर्थिक सुशासन अपरिहार्य रहेको औंल्याए।

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्यको आगमनले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले थपे, “सरकारको १० वर्षभित्र २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना छ, जुन निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर पुरा गरिनेछ।”

नेपालको जलस्रोतलाई समृद्धिको माध्यमका रूपमा प्रयोग गर्न सकिने उल्लेख गर्दै मन्त्री खड्काले विशेषतः जलाशययुक्त आयोजना प्राथमिकतामा राखेर भारत र बङ्गलादेशजस्ता छिमेकी राष्ट्रहरूमा विद्युत् निर्यात गर्न सरकार क्रियाशील रहेको जानकारी दिए। भारतसँग १० हजार मेगावाट र बङ्गलादेशमा हालसालै ४० मेगावाट विद्युत् निर्यात भइसकेको उनले बताए।

उत्पादन भएको विद्युत् अब खेर नजाने स्पष्ट पार्दै मन्त्री खड्काले निजी क्षेत्र तथा दातृ निकायहरूलाई ढुक्क भएर जलविद्युत्मा लगानी गर्न आग्रह गरे। “यस क्षेत्रमा लगानीले नाफा मात्र होइन, दुईदेशीय सम्बन्ध, आर्थिक समृद्धि र रोजगारी समेत सिर्जना गरिरहेको छ,” उनले भने।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि लोडसेडिङ अन्त्य गर्न प्राधिकरण पूर्ण रूपमा सक्षम रहेको उल्लेख गरे। ऊर्जा मन्त्रालयको सहयोगमा प्राधिकरणलाई अझ सशक्त बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यक्रममा चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति प्रेरणादायी भएको बताउँदै चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

साञ्जेनखोला आयोजना ‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको हो। चिनियाँ कम्पनी सिनो हाइड्रो ब्यूरो–११ द्वारा निर्माण गरिएको यस आयोजना २२ अर्ब रुपैयाँको लागतमा रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा सन् २०१९ देखि निर्माण सुरु गरिएको थियो। अब यो आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा औपचारिक रूपमा समावेश भइसकेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप