६८ हजारभन्दा बढी घरमा निःशुल्क मिटर जडान, मेलम्चीको पानी १ हजार किलोमिटर पाइपलाइनमार्फत वितरण

काठमाडौं । मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौं उपत्यकामा संचालित नयाँ वितरण सञ्जालहरूले हालसम्म ६८,६८३ घरमा निःशुल्क पानी मिटर जडान गरेका छन्। योजना कार्यान्वयन निर्देशनालय (पीआईडी) द्वारा सञ्चालन भइरहेको यस कार्यक्रम अन्तर्गत मेलम्चीको खानेपानी नयाँ पाइपलाइनमार्फत ती घरहरूमा आपूर्ति भइरहेको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएका १४ वटा सञ्जाल र थप ११ सञ्जाल, जसको हस्तान्तरण प्रक्रिया अन्तिम चरणमा छ, मार्फत मेलम्चीको पानी आपूर्ति सुरु गरिएको छ। तीमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा मिटर जडान सम्पन्न भइसकेको छ, र बाँकी घरहरूमा जडान कार्य जारी रहेको जानकारी प्राप्त भएको छ।

यसै गरी, चःमती र अनामनगर क्षेत्रलाई नमूना क्षेत्रका रूपमा चयन गरी ८३७ घरमा स्मार्ट मिटर निःशुल्क जडान गरिएको छ। यी मिटरहरूको रिडिङ काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखाबाट अत्याधुनिक प्रणालीमार्फत गरिनु भएको छ।

पीआईडीका अनुसार, थप ११ सञ्जालका ३७७ किलोमिटर पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरणको अन्तिम चरणमा पुगेको छ। बाँकी ८ वितरण सञ्जालका २५३ किलोमिटर पाइपलाइन पनि चाँडै हस्तान्तरण गर्न तयारी गरिएको छ।

यसअघि १४ वितरण सञ्जालका ३५० किलोमिटर पाइपलाइन हस्तान्तरण भइसकेको थियो। हाल उपत्यकामा ३० किलोमिटर प्राइमरी पाइपलाइनसहित ३३ वटा वितरण सञ्जालमा ९८० किलोमिटर नयाँ पाइपलाइन विस्तार भइसकेको छ, जसले कुल पाइपलाइन विस्तारलाई १,०१० किलोमिटर पुर्याएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप