काठमाडौं । अविरल वायुप्रदूषणको चपेटामा परेको काठमाडौं उपत्यकामा करिब दुई सातापछि बुधबार दिउँसो वर्षा भएको छ । २७ दिनको खडेरीपछि परेको पानीले प्रदूषण कम हुने अपेक्षा गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले दिउँसो हल्का वर्षा भइसकेको र साँझतिर पनि वर्षा हुने सम्भावना रहेको जानकारी दिए । ‘आजको पानीले थोरै राहत मिल्नेछ, तर भोलिको वर्षाले प्रदूषण अझै हटाउने आशा गरिएको छ,’ उनले भने ।
मौसमविद्का अनुसार बिहीबार बिहान र दिउँसो अझ बढी वर्षा हुने अनुमान गरिएको छ । पछिल्ला तीन घन्टामा काठमाडौं उपत्यकाको साँखु क्षेत्रमा २०.२ मिलिमिटर वर्षा मापन गरिएको छ भने उपत्यकाका अन्य शहरी भागहरूमा समेत छिटफुट पानी परेको छ । अहिले काठमाडौं उपत्यकासँगै झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यसअघि मंगलबार मध्यम तथा पूर्वी नेपालका केही जिल्लामा पानी परेको थियो । हालको वर्षा पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारणले भएको हो । मौसमविद्हरूका अनुसार यो प्रणाली शुक्रबारसम्म सक्रिय रहनेछ ।
अर्को २४ घन्टाभित्र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा समेत पानी पर्ने सम्भावना छ । यसबाट हालसम्म देशभरि फैलिएर बसेको तुँवालो केही हदसम्म हट्ने आशा गरिएको छ ।
वायु गुणस्तर सूचकांक (AQI) सोमबारसम्म २०० माथि रहेकामा मंगलबार केही घटेको थियो भने बुधबार १८६ मा झरेको छ । यद्यपि यो अझै पनि ‘अस्वस्थकर’ श्रेणीमै पर्दछ, तर अघिल्लो साताको तुलनामा केही सुधार देखिएको छ । अबको वर्षाले उपत्यकावासीलाई वायुप्रदूषणबाट राहत मिल्ने आशा गरिएको छ ।




