काठमाडौं । लोकप्रिय कलाकार जितु नेपाललाई मातृशोक परेको छ । कलाकार नेपालकी आमा ८९ वर्षीया योगकुमारी नेपालको आइतबार बिहान आफ्नै निवासमा निधन भएको हो ।
दिवंगत नेपालका कलाकार जितु नेपालसहित छ जना छोरा तथा एक जना छोरी छन् । जितु नेपालका भतिजा तथा कलाकार निरज नेपालकाअनुसार आइतबार दिउँसो पशुपति आर्यघाटमा दिवंगत नेपालको अन्त्येष्टि गरिने तय भएको छ ।
योगकुमारी निधनप्रति दुःख व्यक्त गर्दै कलाकार मनोज गजुरेलले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले भनेका छन्, ‘प्रिय कलाकार जितु नेपालकी ममतामयी आमा योगमाया नेपालको आज देहान्त भएको छ । ८९ वर्षीय आमा दम लगायतबाट पीडित हुनुहुन्थ्यो । आमाका छ छोरा र एक छोरी हुनुहुन्थ्यो । हाल उहाँ कौशलटारमा जितु नेपालसँगै बस्नुहुन्थ्यो । गोपाल नेपाल फिस्टे, निरज नेपाल लगायत कलाकारकी हजुरआमा हुनुहुन्थ्यो । स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली शोक सन्तप्त परिवारमा हार्दिक समवेदना !’




