माल्टामा ज्यान गुमाएकी गौरीको परिवारलाई एनआरएनएले गर्‍यो १६ लाख सहयोग

काठमाडौं । युरोपेली मुलुक माल्टामा सडक दुर्घटनामा परी मृत्यु भएकी बर्दिबासकी गौरीकुमारी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग गरेको छ । एनआरएन माल्टाले नेपाली समुदायलाई मृतकको शव नेपाल पठाउन तथा परिवारलाई आर्थिक सहयोग गर्न ‘गो गेट फन्डिङ’ मार्फत अपिल गरेको थियो ।

सहयोग अभियानबाट संकलन भएको रकमबाट शव नेपाल पठाएर बाँकी रहेको १६ लाख ५७ हजार १ सय ४० नेपाली रूपैयाँ आमा तुलसा बरालको सिन्धुलीस्थित राष्ट्रिय वाणिज्य बैंक भिमान शाखामा रहेको खातामा जम्मा गरिदिएको एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल रेम्सले जानकारी दिए । यस्तो विषम परिस्थितिमा परिवारलाई केही टेवा पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको उनको भनाइ छ ।

एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुपर्छ भन्ने कर्तव्य ठानेर यो आर्थिक संकलन अभियानमा सहयोग गर्ने माल्टाका सबै नेपाली तथा संघसंस्थालाई अध्यक्ष खनालले धन्यवाद दिए । रोजगारीको सिलसिलामा माल्टा आएकी २५ वर्षीया बराल जनवरी ५ मा सडक दुर्घटनामा परेकी थिइन् । दुर्घटनाबाट गम्भीर घाइते उनको उपचारको क्रममा ११ जनवरीमा अस्पतालमा मृत्यु भएको थियो । उनको शव जनवरी १८ मा पशुपतिमा दाहसंस्कार भइसकेको छ ।

गौरीकी आमा तुल्सा र दाइ विमलकुमार बरालले यस दुःखद् घडीमा गैरआवासीय नेपाली संघसहित प्रवासमा रहेका नेपालीहरूबाट पाएको साथ र सहयोगको लागि धन्यवाद दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप