काठमाडौं । सेन्ट जेभियर्स कलेजको सामाजिक सेवा, वातावरण, र प्रविधि (सेट) परिषद्को आयोजनामा २९औं प्रविधि तथा इन्नोभेसन (सेट) प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ । प्रदर्शनीमा विद्यार्थीहरूले समाज सुधार, वातावरण संरक्षण, र प्रविधिगत नवीनतासँग सम्बन्धित विभिन्न परियोजनाहरू प्रस्तुत गरे ।
कार्यक्रममा जल रकेट, रोबोटिक हात, कृत्रिम बुद्धिमत्ताद्वारा प्रवर्द्धित सवारी मोडेल, र पहिरो अलार्म जस्ता नवीन प्रविधिहरू प्रदर्शित गरिए। प्रदर्शनी अन्तर्गत सामाजिक सेवा, वातावरण र प्रविधि गरी तीन प्रमुख विधामा अन्तर कलेज तथा कलेजकै विद्यार्थीहरूका परियोजनाहरूबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा प्रत्येक विधाका उत्कृष्ट तीन परियोजना विजेताका रूपमा छनोट गरिए । विजेताहरूलाई प्रमाणपत्र, पदक, र नगद पुरस्कार प्रदान गरियो । त्यस्तै, उपस्थित दर्शकहरूले मन पराएको उत्कृष्ट परियोजनालाई ‘पब्लिक च्वाइस अवार्ड’ समेत प्रदान गरिएको थियो ।
शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रमुख अतिथि डा. राजेन्द्र प्रसाद भण्डारीले प्रदर्शनी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण माध्यम भएको बताए । साथै, उनले विद्यार्थीहरूलाई राष्ट्रका आधारस्तम्भको रूपमा परिभाषित गर्दै यस्ता प्रविधिमैत्री कार्यक्रमहरूले उनीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने उल्लेख गरे ।




