काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको सीमामा पर्ने वागमती नदी पुलको मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको छ। पुलको एक भाग चर्किएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले वैकल्पिक रूपमा डेढ किलोमिटर लामो ड्राइभर्सन निर्माण गरी सवारी आवागमन व्यवस्थित बनाएको छ।
कार्यालयका प्रमुख अरुणकुमार कर्णका अनुसार पुलको पूर्वतर्फ ४ र ५ नम्बर स्पानको बीचमा रहेको बिम करिब आठ सेन्टिमिटर चर्किएको छ। यही माघ २६ गते ड्राइभर्सन तयार पारेर माघ २८ गतेदेखि पुल मर्मत थालिएको हो। करिब ५५ वर्षअघि नेपाल-सोभियत संघ सहयोगमा निर्माण भएको यो पुलको बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कंक्रिट फुटेपछि समस्या देखिएको थियो।
पुलको मर्मत कार्यलाई गुणस्तरीय बनाउन आधुनिक प्रविधिको प्रयोग गरी उच्च गुणस्तरको कंक्रिट हाल्ने काम भइरहेको छ। प्रमुख कर्णका अनुसार, मर्मतको क्रममा अन्य बिमहरूको सरसफाइ तथा कंक्रिटको अवस्था पनि परीक्षण गरिँदैछ।
सवारी आवागमन चाँडोभन्दा चाँडो पुनः सञ्चालन गर्नका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ। पुल महाशाखाको प्राविधिक टोलीको स्थलगत निरीक्षण तथा सुझावअनुसार मर्मत प्रक्रिया अघि बढाइएको हो। सम्भवत: आगामी फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याइने योजना रहेको प्रमुख कर्णले जानकारी दिए।
सुरक्षालाई ध्यानमा राख्दै सडक डिभिजन कार्यालयले माघ २५ गते सवारी रोक लगाउने पत्राचार गरेको थियो। पुलको बिम चर्किएपछि आवागमन जोखिमपूर्ण बनेकाले माघ २७ गतेदेखि यातायात पूर्ण रूपमा रोकिएको थियो।
अब, मर्मत कार्य सम्पन्न भएपछि यो व्यस्त पुल पुनः सुरक्षित रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।




