काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेल ठगीको आरोपमा पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान मोरङ जिल्ला प्रहरी कार्यालय नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
मोरङको रङ्गेली नगरपालिका-२ घर भई हाल काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेल नेकपा एमाले मोरङ जिल्ला सदस्य समेत हुन् । उनीमाथि सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवा निवासी ५७ वर्षीय बौआलाल चौधरीलाई एमबीबीएस भर्नाका लागि छोरीको नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
चौधरीसँग विभिन्न मितिमा ठगी गरिएको रकम लिएपछि पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले निर्देशन दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार पोखरेललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया सुरु भइसकेको छ ।
ठगीको आरोप लागेसँगै सभापति पोखरेलका स्वकीय सचिवको जिम्मेवारीबाट पोखरेललाई हटाइएको छ । सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालामाथि पनि सहकारी ठगीको आरोप लागिसकेको छ । मुद्दा दर्तापछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । अदालतको आदेशअनुसार १० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेकी हुन् ।
प्रतिकृया दिनुहॊस