काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुबिधामा नरहन आग्रह गरेका छन् ।
कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अनुगमनका क्रममा बोल्दै उनले भने, ‘विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दै जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीएस सञ्चालन गर्न मिल्छ ।’
उनले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रक्रिया रहेको पनि स्पष्ट पारेका छन्। मन्त्री पौडेलले भने, ‘विश्वविद्यालय बन्न सक्दा राम्रो हुन्छ । लागत बढी छ । राज्यले त्यो लागत उपलब्ध गराएर विश्वविद्यालय सञ्चालन गर्नुपर्छ ।’ उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने कुरा पनि उल्लेख गरे। नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने विश्वास उनले दिलाएका छन् ।
‘यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्’, उनले भने । मन्त्री पौडेलले गेटा अस्पतालमा २४सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन समेत दिएका छन्। गेटामा करिब सात अर्बका भौतिक संरचना निर्माण भएका छन् । हाल यहाँ ५० शैंयाको अस्पताल सञ्चालनमा छ ।
प्रतिकृया दिनुहॊस