काठमाडौं । बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट अनियन्त्रित भइ करीब २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका-१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, तलकोट गाउँपालिका-४ कै ७२ वर्षीय जोगेनी देवी धामी र बम बहादुर धामीकी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो ।
गयराति ८:३५ बजे तलकोट गाउँपालिका-२, सुकगाडमा भएको जीप दुर्घटनामा तीन जनाको घटना स्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।
बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भइ १०० मिटर तल खस्दा चालक मष्टाकै ४२ वर्षिय धर्म थापाको मृत्यु भएको हो । राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो । जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहॊस