सहकारी ठगी प्रकरण : सयौं अभियुक्त कारबाहीमा, चर्चाको केन्द्रमा रवि लामिछाने

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा अदालतमा बयान जारी छ। यस मुद्दाका मुख्य आरोपीहरू छविलाल जोशी र लीला पछाइको बयान सकिएपछि रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिइएको छ। लामिछानेले अदालतमा प्रस्तुत गरिएका सबै आरोप इन्कार गरेका छन्।

दुई दिनमा २६ भन्दा बढी प्रश्नका जवाफ दिएका लामिछानेसँग पहिलो दिन तीन घण्टा र दोस्रो दिन दिनभरि बयान लिइएको थियो। बयानका क्रममा उनले गोर्खा मिडियाको सम्पूर्ण जिम्मेवारी जीबी राईसँग रहेको बताएका छन्। लामिछानेको बयानपछि अन्य आरोपीहरूको बयान प्रक्रिया अघि बढेको छ।

उक्त प्रकरणमा रवि लामिछानेसहित छविलाल जोशी, लीला पछाइ, कृष्णबहादुर गुरुङ र रामबहादुर खनाल बयानका लागि सोमबार अदालतमा उपस्थित भएका थिए। बयान सकिएपछि थुनछेक बहस र आदेशको प्रक्रिया अघि बढ्नेछ।

विशेष समितिको सिफारिसमा सरकारद्वारा ५ सयभन्दा बढी सहकारी संस्थामा ठगी र अपचलनको आरोपमा १ हजार १ सय ७५ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। हालसम्म ६ सय जनामाथि कारबाही भइसकेको छ भने ५ सय ७५ जना अनुसन्धानका क्रममा हिरासतमा छन्।

२२ सहकारीका झन्डै ४० अर्ब रुपैयाँ अपचलन भएको पाइएको छ। प्रहरीले देश छोडेका ९ अभियुक्तविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ। फरार अभियुक्तहरूमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु राई, भूपेन्द्रबाबु राई र थानबहादुर बुढालगायतका व्यक्तिहरू रहेका छन्।

रवि लामिछानेमाथिको अनुसन्धानले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा विशेष चर्चा पाइरहेको छ। सहकारीको रकम टेलिभिजनमा लगानी गरिएको आरोपमा लामिछानेमाथि कानुनी प्रक्रिया अघि बढिरहेको छ। तर उनीमात्रै कारबाहीको घेरामा परेको भन्ने धारणा भ्रामक छ।

सत्ता र विपक्षी दलका नेताहरू समेत यो प्रकरणमा तानिएका छन्। नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूमाथि पनि अनुसन्धान भइरहेको छ।

ठगी प्रकरणका अन्य ठूला मुद्दाहरू

  • सुकेधाराको आइडियल यमुना सहकारी: अध्यक्ष कृष्णबहादुर उप्रेती १५ करोड अपचलनको आरोपमा थुनामा।
  • कृषि विकास बहुउद्देश्यीय सहकारी: अध्यक्ष तेजविक्रम थापा र उनकी पत्नी सजना राजकर्णिकारसहित चार जना पक्राउ।
  • कान्तिपुर सेभिङ एन्ड क्रेडिट: पूर्वअध्यक्ष चन्द्रबहादुर लामा र हिमालविक्रम मल्ल सात अर्ब ९० करोड अपचलनमा जेलमा।
  • भक्तपुरको शिवशिखर सहकारी: निवर्तमान अध्यक्ष कारबाहीमा।
  • मोरङको तुलसी सहकारी: अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्मा पक्राउ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री