भीमलाई विष्णुको चुनौती- ह्याउ भए आफ्नो घर बनाएर देखाऊ !

काठमाडौं । एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीबाट हटाइएका पूर्वउपाध्यक्ष भीम रावलप्रति कडा प्रतिक्रिया जनाउँदै नयाँ पार्टी निर्माणको चुनौती दिएका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमा रावलको विगतका गतिविधिहरूलाई लिएर कटाक्ष गर्दै चुनौती दिएका हुन् ।

रिमालले ३९ वर्षदेखि आफूहरू पार्टी सङ्गठन निर्माणमा सक्रिय रहेको उल्लेख गर्दै, रावललाई ‘विवाद खोज्ने पात्र’ को संज्ञा दिएका छन्। कवितात्मक शैलीमा आफ्नो भनाइ राख्दै उनले लेखेका छन्,
”हामीले चुनौतिहरू चिरेर पार्टीलाई उचाइमा पु-यायौँ,
तर तिमी ‘किच-किच’ गर्दै बसेका छौ ।
जब पार्टी एकताका लागि जुट्यो,
तिमीले विभाजनको बाटो रोज्यौ।
र, त्यो बाटो पनि छोडेर अन्तै दौडियौ ।”

रिमालले रावललाई थप प्रहार गर्दै भनेका छन्, ‘यदि साहस छ भने आफ्नै घर बनाऊ। आफ्नै मझेरी र आँगनमा तिम्रा ‘हाँडा-भाँडाहरू’ बज्न नदिउ । अरूको घरको चासो नलिए हुन्छ ।’

  • रिमालले यसरी गरेका छन् टिप्पणी :-

उनी पो निसासिए रे !

उननचालीस सालदेखि यता

हामी निरन्तर पार्टी सङ्गठन निर्माणमा लागि रह्यौँ,

पार्टी भित्र सधैँ उनी—

विवादका लागि मौकाको खोजीमा रहे,

अनवरत ‘किच–किच’ गरेर बसिरहे।

प्रत्येक चुनौती चिर्दै

पार्टीले उचाइ छोएको बेला,

सुरु भएको विवादमा,

हामी एकताको पक्षमा उभियौँ,

उनले विभाजनको बाटो रोजे ।

बाटो मात्र रोजेनन्,

त्यस समूहलाई पनि बिचमै छोडे– अन्तै दौडिए।

’आदर्श’का गफ र ’अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।

एक समय फेरि आयो,

पार्टीमा बहस–विवाद सुरु भयो ।

’जोरीपारी’हरु–

‘एमाले विनाको राजनीति’को खेतीमा लागे,

उनी ’ओली विनाको एमाले’ भन्दै उफ्रिए ।

विभाजनको लागि कसैलाई उचाले–

एकता भन्दै आफू अर्कातिर अल्झिए ।

मौसम छ्याङ्ग भएपछि,

फेरि नयाँ चुनौती सामना गर्ने बेलामा—

छोडे, दौडिए— पार्टीकै विरुद्ध खनिए ।

सानै सही—

असहमत ’अरूहरू’ले दुःखैले बनाएको घरमा

लुसुक्क छिरे–

‘बन साङ्ला’ले ’घर साङ्ला’लाई लखेटे झैँ

उल्टै हाकिम पल्टिए ।

अहिले फेरि उनलाई लागेछ क्यारे–

कतै ‘टाँड’ पो पर्छ कि?!

कतै औँला घुसार्न पो मिल्छ कि?!

अनि भन्न थाले छन् फेरि–

‘ओलीले छोड्नु पर्छ, उकुसमुकुस भएको छ ।’

अरे यार !

ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर !

आफ्नो घरको मझेरीमा, आँगनमा,

गन्द्रयाङ, गुन्द्रुङ गरिरहेका तिम्रा ‘हाँडा–भाँडा’हरू

बज्न नदेऊ न !

ढोका खोलुन् कि– छेस्किनी लाउन्,

अरूले उनीहरूका घरमा,

जे गरुन्–बाल मतलब !

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री