गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई लगाइयो शौचालय सफा गर्न

जनकपुरधाम । धनुषाको एक निजी विद्यालयमा गृहकार्य नगरेको सजायस्वरूप एक विद्यार्थीलाई शौचालय सफा गर्न लगाएको घटना बाहिर आएको छ । धनुषाको जिल्लाको बटेश्वर गाउँपालिका २ स्थित एक निजी विद्यालयका शिक्षकले अङ्ग्रेजी विषयको सबै गृहकार्य नगरेको  भन्दै शौचालय सफा गर्न लगाएका हुन् ।

स्थानीय सनसाइन इ‌ंग्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय  वसन्तकुमार सिंहले गत बुधबार गृहकार्य नगरेको भन्दै शिक्षक फ्रान्कीले अाफूलाई कक्षाकोठाबाट निकालेर शौचालय सफा गर्न लगाएको बताए। ‘फ्रान्की सरले पाँच वटा होमवर्क गर्न दिनुभएको थियो । मैले चारवटा मात्र गरेको थिए, त्यसैले सरले घण्टी अवधिभर शौचालय सफा गर्न लगाउनुभयो’, वसन्तले भन्नुभयाे । यसअघि पनि विद्यार्थीहरूले होमवर्क नगर्दा उनले बेञ्चमा उभ्याएर लठ्ठीले पिट्ने गरेको वसन्तले बताउनुभयाे ।

वसन्तका बुवा विन्देश्वर महतोले छोरालाई शिक्षकले शौचालय सफा गर्न लगाएको विषयमा बुझ्न जाँदा प्रिन्सिपल श्रवण महतोले विद्यालय प्राङ्गणबाट जबरजस्ती निकाल्न लगाएको गुनासो गर्नुभयाे । ‘छोरालाई शौचालय सफा गर्न लगाएको विषयमा बुझ्न जाँदा श्रवण सरले तिमी के गर्न सक्छौ भन्दै दुर्व्यवहार गर्नुभयो’, उहाँले भन्नुभयाे । गाउँपालिकाको न्यायिक समिति,  र प्रहरी चौकीमा उजुरी दर्ता गराए पनि कुनै पहल नभएको उहाँको दुःखेसो छ ।

स्कुलका प्रिन्सिपल महतोले विन्देश्वर महतोको घरबाट चार बालबालिका पढ्दै गरेको र २५ हजार रुपैयाँ  तिर्न ताकेता गरेपछि विद्यालयलाई बदनाम गर्न यस्तो हर्कत गरेको बताउनुभयाे । ‘विद्यार्थीले मात्र हैन, शिक्षकले समेत ओरल विषय अन्तर्गत शौचालय सफा गर्ने  गरेका छन्’, उहाँले भन्नुभयाे । प्रिन्सिपल महतोले सामाजिक विषयअन्तर्गत विद्यार्थीहरूलाई सरसफाइको बारेमा शिक्षकसँगै विद्यार्थीहरूले पनि शौचालय सफा गरेको दाबी गर्नुभयाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री