‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र

काठमाडौं । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा २७ करोड सङ्कलन गरेको जानकारी दिए ।

उनले भने, ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृत्तिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’

उनले चलचित्रले मङ्गलबारसम्म २५ करोड तीन लाख र बुधबार दुई करोडको हाराहारीमा व्यापार गरेको बताए । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमण मासमेत निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिए ।

‘हामी गाईघाटबाट भ्रमण सुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उनीहरूको मायाले हामी मात्र नभई नयाँ निर्मातालाई पनि हौसला मिलेको छ’, निर्माता पौडेलले भने ।

उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् । यो चलचित्रले एकै दिन तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वरसम्राट नारायणगोपालको बायोपिक चलचित्र बन्ने

काठमाडौं । स्वरसम्राट नारायणगोपालको जीवनीसम्बन्धी बायोपिक चलचित्र बनाउने घोषणा गरिएको छ । लेखक प्रकाश सायमिले …

प्रतिकृया दिनुहॊस