काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए)ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी बैंकिङ अधिकारीहरूको सहभागिता थियो ।
कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाइमा थप विकास गर्ने, आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्ने, ग्राहकको चेतनाको स्तर अभिवृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्नेलगायत विषयमा केन्द्रित थियो ।
कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण, सीमापार डिजिटल कारोवार, बढ्दै गइरहेको साइबर ठगी र त्यससँग सम्बन्धित बढ्दो चुनौतीहरूजस्ता प्रमुख विषयहरू समेटेको थियो ।
त्यसैगरी, सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमहरूको व्यवहारिक पक्षबारे जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो ।
कार्यक्रमले डिजिटल वित्तीय सेवा बारे बैंकका कर्मचारीले पुर्याउनुपर्ने भूमिकालाई जोड दिँदै कर्मचारीहरूको आवश्यक ज्ञान, सिप र क्षमता अभिवृद्धि गरी डिजिटल वित्तीय सशक्तीकरणतर्फ नेपालको यात्रामा एउटा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सुरक्षित र समावेशी डिजिटल वित्तीय वातावरण प्रवर्धन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताइएको छ ।
प्रतिकृया दिनुहॊस