भियतनाममा शक्तिशाली आँधी : ६० जनाभन्दा धेरैको मृत्यु, १५ लाख प्रभावित

काठमाडौं । उत्तरी भियतनाममा ‘सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन् । त्यस क्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ ।

शनिबार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ ।  ‘ड्यासक्याम’बाट खिचिएका भिडिओ फूटेजमा सोमवार फु थोक प्रान्तको फोङ चाउ पुल भत्किएको क्षण देखिन्छ । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन् ।

पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् । यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो ।

पुलमा के भयो ?
फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेको भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन् । चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो । हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ ।

नुयाङ मिन्ह हइले पुल भत्किँदा आफूले उक्त पुलमा मोटरसाइकल चलाइरहेको बताउँछन् । ‘तल खस्दा म निकै आत्तिएँ,’ अस्पतालबाट बोल्दै उनले भने, ;मलाई भर्खर मैले मृत्यु छलेँ भन्ने अनुभूति भइरहेको छ । मलाई पौडी खेल्न आउँदैन त्यसैले अब म मर्छु जस्तो लागेको थियो ।’

३७५ मिटर लामो उक्त पुलको केही भाग अझै बाँकी छ । त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको ‘पोन्टून’ पुल बनाउन निर्देशन दिएको छ । भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो । जसमध्ये ६८ वर्षकी एक महिला, एक वर्षका बालक र एक नवजात शिशु छन् ।

आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्‍याएको छ । रोयटर्स समाचार संस्थाका तस्बिरहरूमा हाइ फोङ सहरको एलजी इलेक्ट्रोनिक्स कारखानाको पर्खाल भत्किएको देखिन्छ ।

भियतनाम, चीन र फिलिपिन्समा असर
यन बाई प्रान्तमा सोमवार बाढीको पानीका कारण सतहको उचाइ बढेपछि २,४०० परिवारलाई उच्च भूभागमा सारिएको एएफपी समाचार संस्थाले जनाएको छ । भियतनामका तटीय सहरहरूबाट झण्डै ५०,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने, अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी जारी गरेका छन् ।

हनोईसहितका १२ उत्तरी प्रान्तमा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् । देशको उत्तर पूर्व तट क्षेत्रमा रेष्टुराँ चलाउने नोयङ थी थोमले आफू र कैयौँ अरू मानिसहरूले आँधीका कारण सब थोक गुमाएको बताउँछिन् । ‘मसँग केही बाँकी छैन। जब म आसपास हेर्छु मानिसहरूले मजस्तै सर्वस्व गुमाएका छन्,’  उनले भनिन्, ‘म यस अवस्थाबाट माथि उठ्ने प्रयास मात्र गर्न सक्छु ।’

भियतनाममा बज्रिनुअघि यागीका कारण दक्षिण चीन र फिलिपिन्समा २४ जनाले ज्यान गुमाएका थिए । विश्व तातिरहँदा ताइफुनले तीव्र वेग र अझ भारी वर्षा निम्त्याउन सक्ने भए तापनि प्रत्येक जसो आँधीमा जलवायु परिवर्तनको प्रभाव हेर्ने काम जटिल छ । -बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफले १८.३८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको …

प्रतिकृया दिनुहॊस