पर्वत । आयोजनामा कार्यरत मजदुरको आन्दोलनका कारण पर्वतमा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य रोकिएको छ। आयोजनाको सुरुङमा विष्फोटनका लागि माटोको लोला भर्ने काममा संलग्न ६ जना मजदुरलाई निष्कासन गरेकोमा विरोध जनाउँदै मजदुरले काम ठप्प पारेका हुन् ।
औधोगिक घरना चौधरी ग्रुपले निर्माण गरिरहेको १५.०१ मेगावाट क्षमताको उक्त आयोजनाको काम बुधबारदेखि रोकिएको हो । आन्दोलनरत मजदुर युनियनले निष्कासन गरिएका ६ जना महिला कामदारलाई पुनर्बहाली गर्नुपर्ने र उनीहरूको पुनर्बहाली नभएसम्म काम हुन नदिने बताएको छ । मजदुरको आन्दोलनका कारण सुरुङ, पावर हाउस, इन्टेकलगायतका संरचना निर्माण कार्य प्रभावित भएको छ ।
आयोजनाले भने सुरुङमा विष्फोटनको काम सकिएको र निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा कर्मचारी निष्कासन गरिएको बताएको छ । आयोजना प्रमुख निरञ्जनकुमार राउतले काम नभएका कारण असारदेखि नै तलब निकासा नभएका कारण दशैँपछि निष्कासन गरिए पनि छलफल गरी समस्या समाधानको प्रयास भइरहेको बताए । ‘काम नभएका कारण मजदुर निष्कासन गरिएको हो।’ आयोजना प्रमुख राउतले भने, ‘हामीले छलफल र संवादबाट मजदुरलाई वैकल्पिक ढंगले व्यवस्थापन गर्ने योजनामा छौँ ।’
जिल्लाको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुईहजार ४०० मिटर सुरुङ निर्माण कार्य सकिएको छ। बाँकी भागमा विष्फोटन नगरी निर्माण कार्यअघि बढेको आयोजना प्रमुख राउतले बताए । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट शुरु भएको हो। आयोजनामा कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर २ बेतेनीसम्म द्ई हजार ६९३ मिटरको सुरुङमार्फत् ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत् मोदीखोलामा मिसाउने योजना छ ।
यो आयोजनबाट उत्पादित विद्युत् चार किलोमिटर लामो प्रसारण लाइनमार्फत् देउपुर–पोखरा १३२ केभी सबस्टेशन देउपुरमा जडान गरिनेछ। उक्त प्रसारण लाइन र सबस्टेशन निर्माणको प्रकृया भने भर्खर शुरु भएको छ । आयोजनामा प्राइम बैंकको नेतृत्वमा सातवटा बैंकले लगानी गरेका छन् ।
प्रतिकृया दिनुहॊस