बस बेपत्ता घटना : नयाँ रणनीतिसाथ खोजिँदै बस र यात्रु, भारतीय उद्धार टोली पस्यो त्रिशूली

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजी गर्न भारतीय टोली पनि सक्रिय भएको छ । अघिल्लो शुक्रबार भएको घटनापछि बस र त्यसमा सवार यात्रु खोज्न चार गोताखोरसहित १२ जनाको भारतीय टोली त्रिशूलीमा पसेको हो ।

पानीभित्र खोजतलास गर्ने तीनवटा सोनार क्यामरासहित आएका उनीहरूले बिहानबाट दुर्घटनास्थल सिमलतालदेखि खोजी सुरु गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनकाअनुसार भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ)का प्राविधिकसहितको टोली खोजीमा आएका हुन् । टोलीले ल्याएको सोनार क्यामराले ३० मिटर गहिराइसम्मको वस्तु संकेत गर्न सक्छ ।

बस तथा सबै यात्रुको अवस्था पत्ता नलाग्दा हराएका व्यक्तिका आफन्त निराश बनेका बेला नयाँ रणनीतिसाथ खोजी थालिएको छ । नेपालको भूगोल र नदीनालाको अवस्थिति फरक भएकै कारण त्रिशूलीमा डुबेका बस यात्रु नभेटिएको इतिहास रहेको छ । दुर्घटना भएको बसमा भारतीय नागरिकसमेत सवार रहेको अभिलेख पाइएको हुनाले भारत सरकारले चासोसाथ खोजी गर्न टोली पठाएको हो ।

भारतबाट कुनाल तिवारीको नेतृत्वमा खोजी दलको १२ सदस्यीय टोली नेपाल आएर शनिबार घटनाको पूर्ण विवरण बुझेको छ । टोलीले धमिलो पानीमा समेत खोजी गर्न सक्ने प्राविधिक उपकरण ल्याएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए । भारतीय टोलीले नेपालको गोताखोर टोलीसँग मिलेर खोजी गर्दाका जोखिम क्षेत्र पहिचान योजना बनाई घटनास्थलको अवस्थिति बुझेको छ ।

उनका अनुसार बस नभेटिनुमा त्रिशूली नदीको भौगोलिक जटिलता नै हो । त्यसमाथि मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण पहिलो दिन नै सकस परेको थियो । जटिल भूगोलसहित त्रिशूली नदी कतै अत्यन्त खोँचयुक्त गहिरो छ भने कतै फराकिलो बालुवा र ढुङ्गाले भरिएको छ ।

उद्धार र खोजीमा सघाउनका लागि उच्चस्तरीय प्रविधिसहितको टोली भारतबाट आएकाले अबको खोजी प्रभावकारी हुने उनको भनाई छ । गत असार २८ गते काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस सिमलतालको भेलपहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

बससँगै हराएका ६२ जनामध्ये सुरक्षा टोलीले शनिबार साँझसम्म २१ पुरुष र ४ महिला गरी २५ शव फेला पारेको छ । जसमा १८ शवको मात्रै सनाखत भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस