आइफोन पछ्याउँदा पक्राउ परे महिला हत्याका आरोपित

काठमाडौं । पोखराको एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् पत्ता लागेको छ । तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय सञ्जय विक आइफोनको खोजी गर्दा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

सञ्जयले गत मंसिर ५ गते सुकुलाई होटलको कोठामा घाँटी थिचेर हत्या गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माले बताए । उनका अनुसार सुकुले आफूलाई विवाह गर्न बारम्बार दबाब दिएकाले हत्या गर्नुपरेको बयान सञ्जयले दिएका छन्। प्रहरीले पनि आइफोन र गरगहनाका लागि हत्या भएको हुन सक्ने आशंका गरेको छ । ‘अभियुक्तविरूद्ध यसअघि पनि पहिला पनि चोरी र अभद्र व्यवहारमा मुद्दा चलिसकेको रेकर्ड छ । यसका आधारमा उनले आइफोन र गरगहनाकै लागि हत्या गरेको हुन सक्ने हाम्रो आशंका छ,’ डिएसपी शर्माले भने, ‘प्रारम्भिक बयानमा विवाह गर्न दबाब दिएकाले हत्या गरेको भनेका छन् । अनुसन्धान जारी छ ।’

केन्द्रीय अनुसन्धान ब्युरोले सुकुको आइफोन खोजतलास गर्दा महोत्तरीको बर्दीवास-७ का राजेश बुढाथोकीले प्रयोग गरेको भेटाएको थियो । बुढाथोकीलाई उक्त आइफोन बागलुङको गलकोट स्थायी घर भएका सञ्जय विकले ४० हजार ५०० रुपैयाँमा बिक्री गरेका थिए। श्रीमती र छोरासहित संजय पोखराको घारीपाटनमा डेरा बस्दै आएका थिए । बुढाथोकीलाई आइफोन बिक्री गरेका सञ्जयको पोखराको डेराबाट प्रहरीले सुकुलाई होटल लैजाँदा लगाएको द नर्थ फेसको निलो ज्याकेट र पोको कम्पनीको मोबाइल बरामद गरेको थियो । उक्त ज्याकेट सुकुलाई लिएर होटल जाँदा सञ्जयले लगाएका थिए । उनको मोबाइलमा आइफोन बोकेको सुकुको फोटो र फोन नम्बर पनि थियो ।

हत्यापश्चात पोखराको डेरामा श्रीमती र छोरा छाडेर सञ्जय नवलपुरको गैंडाकोटमा डेरा लिएर लुकेका थिए । उनी कसैसँग सम्पर्कमा थिएनन् । प्रहरीले उनी लुकेर बसेको ठाउँ पत्ता लगाएपछि बुधबार बिहान साढे ५ बजे पक्राउ गरेको डिएसपी शर्माले बताए । नवलपुर प्रहरीको सहयोगमा पक्राउ गरेर उनलाई पोखरा ल्याइएको छ ।

यसअघि २०७२ सालमा सञ्जयविरूद्ध चोरी मुद्दा चलेको र २०७३ मा अभद्र मुद्दा चलेको पनि प्रहरीले जनाएको छ । कास्की प्रहरीमा गत आर्थिक वर्ष विभिन्न अपराधमा २ हजार १३४ वटा मुद्दा दर्ता भएका थिए । जसमा १ हजार ६२२ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ५१२ वटा मुद्दा बाँकी छन् । यी मुद्दामा ८ वटा हत्या, हत्या प्रयासका १८ वटा र बलात्कारका ५२ वटा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, तीन सदस्य पनि नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.दडिल्लीराज अर्याललाई नियुक्त गरेको छ ।आज …

प्रतिकृया दिनुहॊस