काठमाडौं । नियमित उपचारपछि क्यान्सर रोग निको भएका व्यक्तिहरुलाई सहभागी गराई नेपालमै पहिलोपटक सन्देशमूलक फेशन सो र नृत्य कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम प्रतियोगितात्मक नभई सहभागितात्मक रहने बताइएको छ । आगामी पुस २७ गते अर्थात् ११ जनवरी २०१९ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प शो’ नाम दिइएको सो फेशन शो तथा नृत्यमा क्यान्सर निको भएर नयाँ जीवन बिताइराखेका महिला र पुरुष गरी ३ दर्जनभन्दा बढीले भाग लिने बताइएको छ । ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ नाराका साथ क्यान्सर निदान र उपचारमा विगत ८ वर्षदेखि सेवारत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुर र नेपाल क्यान्सर सपोर्ट ग्रुप नामक गैरसरकारी संस्थाको संयुक्त आयोजनामा र्याम्प शो आयोजना गर्न लागिएको अस्पतालले जनाएको छ ।
‘क्यान्सर लुकाएर बस्न हुँदैन, क्यान्सर लाग्दैमा आत्तिनु हुँदैन, समयमै उपचार गरे क्यान्सर निको हुन्छ र क्यान्सर भइसकेपछि पनि जीवन अझै बाँकी छ, हरेस खान हुँदैन’ भन्ने सन्देश दिन पहिलोपटक फेशन सो आयोजना गर्न लागिएको सुदिप्त क्यान्सर सर्भाइभल र्याम्प शो कार्यक्रमकी संयोजक स्वरुपा श्रेष्ठले बताइन् ।
“नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका साथै विभिन्न क्यान्सर अस्पतालमा उपचार गरी नयाँ जीवन पाएका व्यक्तिहरुलाई सहभागी गराई फेशन शो आयोजना गर्दा समाजमा आफ्नो क्यान्सर रोग लुकाएर बसेकाहरु प्नि स्वस्र्फूतरुपमा अगाडि आउने र समयमै क्यान्सर उपचार गर्नेछन् भन्ने हामीले विश्वास गरेका छौं,” कार्यक्रम संयोजक श्रेष्ठले भनिन् ।
श्रेष्ठका अनुसार उक्त फेशन शोमा क्यान्सर निको भएका व्यक्तिहरुको अलावा नेपालका चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै समाजका लब्ध प्रतिष्ठित व्यक्तित्व, उद्योगपति, समाजसेवी, कलाकार, खेलाडीलगायतको सहभागिता रहने छ । विशुद्ध सामाजिक र सेवामूलक उद्देश्य भएको कार्यक्रम भएकोले क्यान्सर निको भएर क्यान्सरबारे किताब लेख्दै गरेकी चर्चित बलिउड नायिका मनिषा कोइरालालाई पनि कार्यक्रममा सहभागी गराउन प्रयास भइरहेको कार्यक्रम संयोजक श्रेष्ठले बताइन् ।
“सबैखाले क्यान्सरको उपचार नेपालमै सम्भव छ, उपचारको लागि कुनैपनि बिरामी तनाव लिएर र आर्थिक बोझ बोकेर विदेश जानु पर्दैन,” नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले भने । “यसप्रकारको सन्देशमूलक कार्यक्रमले क्यान्सरका बिरामीलाई समयमै उपचार गराउन हौस्याउँछ,” नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्षसमेत रहेका डा. श्रेष्ठले भने ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपले सुदिप्त क्यान्सर सर्भाइभल कार्यक्रममार्फत् नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचाररत बिरामी र क्यान्सर निको भइसकेका व्यक्तिहरुसँग नियमित भेटघाट र छलफल गर्दै रोग लागेको बेलामा उनीहरुले भोग्नुपरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक तनाव न्यूनीकरणदेखि बिरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ ।
यसका साथै सो कार्यक्रममार्फत् क्यान्सर बिरामी, निको भइसकेका व्यक्तिहरुसँग अस्पतालका चिकित्सक, मनोचिकित्सक र समाजसेवीबीच भेटघाट र छलफलका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
डेढ वर्षको अवधिमा नेपाल क्यान्सर अस्पतालले १४ जना गरिब स्तन क्यान्सरका बिरामीको शल्यक्रियाको लागि जनही १ लाख तथा सुदिप्त क्यान्सर सर्भाइभल कार्यक्रममार्फत् २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको नेपाल क्यान्सर अस्पताल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी सदस्य समेत रहेकी श्रेष्ठले बताइन् ।



