काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो जारी छ । आजसम्म चल्ने एक्स्पोमा तीन लाख रुपैयाँमै घर निर्माण गर्ने अफरसमेत केही कम्पनीले ल्याएका छन् ।
घर निर्माणको सम्पूर्ण समाधान एकै थलोमा प्राप्त गर्ने यस्तो मौका फेरि नआउन सक्ने भन्दै आयोजकले मेला अवलोकनका लागि आग्रह गरेको छ। नवीनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले आयोजित मेलामा अहिलेसम्म एक लाख जनाले अवलोकन गरिसकेका छन् ।
मेला सहआयोजक ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले घर बनाउन चाहने हरेक व्यक्तिलाई एक पटक ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ को अवलोकन गर्न सल्लाह दिएका छन् । “मेलामा घर निर्माण गर्ने सम्पूर्ण सामग्री र निर्माणका लागि आवश्यक प्राविधिक सल्लाह उपलब्ध छ,” उनले भने ।
मेलामा निर्माण सामग्रीहरु पेन्ट्स, सिमेन्ट, फर्निचर, पाइप एन्ड फिटिंग्स्, फर्निचर, फर्निसिङ, प्रिफ्याब, ल्याण्ड एण्ड हाउजिङ कम्पनी, इन्टेरियर डिजाइनर, स्टिल, इँटा तथा मार्बल, विद्युतीय सामग्री, बीमा, सौर्य ऊर्जा, बैंकहरुका आवास कर्जा योजनालगायत स्टलहरु छन् । मेलामा क्षमादेवी बिल्डिङ मेटेरियल्सले प्रिफ्याबका घरहरु ३ लाख रुपैयाँमै बनाइ दिने योजना ल्याएको छ । मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरु प्रदर्शनमा राखिएका छन् ।
इन्जिनियर, आर्किटेक्ट, डिजाइनर, निर्माण व्यवसायी, निर्माण सामग्री उत्पादक तथा विक्रेतालगायत सबै सरोकारवाला पक्षलाई एकै ठाउँमा ल्याएर सुरक्षित र दिगो आवास निर्माणबारे सूचना दिने उद्दश्यले मेला आयोजना गरिएको हो । कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्स (वाइसिएनसी) को मुख्य आयोजनामा भएको मेलाको सहआयोजकमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म र ब्राण्डवर्थ प्रालि रहेका छन् । मेलास्थलमा निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रतिकृया दिनुहॊस