काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक भयो । नेपाली भाषामा बनेको सिक्किमी फिल्मको ट्रेलरमा द्वन्द्वका कारण परिवारबाट छुटिएका बालबालिकाको अवस्था देखाइएको छ ।
ट्रेलरले बाल मनोविज्ञानमा राजनीतिक र धार्मिक प्रभावको कथामाथि फिल्म बनेको हिंट दिन्छ । प्रमुख भूमिकामा इशिखा गुरुङ, अनमोल लिम्बु, मन्जु केसी देखिएका छन्। त्यस्तै अन्य कलाकारहरु शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुनको पनि अभिनय रहेको छ ।
फिल्मका लागि गीतकार पवनकुमार चाम्लिङ हुन्। उनी सिक्किमका पाँचौं मुख्य मन्त्री हुन् । उनी नेपाली साहित्यमा पवन चाम्लिङ किरणका नामले चिनिन्छन् । उनलाई नेपाली साहित्य लेखनका लागि सिक्किम साहित्य परिषद्ले सन् २०१० मा भानु पुरस्काबाट सम्मानित गरेको थियो । उनीसँगै पियुष नेपाल, प्रयास नेपाल र विश्वास तिम्सिनाको पनि लिरिक्स छन् ।
पर्पल पेबलको ब्यानरमा बनेको फिल्म ‘पाहुना’लाई पाखी ए टायरवालाले निर्देशन गरेकी हुन् । फिल्मको छायांकन सिक्किममै भएको हो ।




