पाेखरा । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासेमा केबलकार बन्ने भएको छ । पञ्चासे केबलकार परियोजनाले १० अर्बको लागतमा केबलकारसहित अन्य संरचना बनाउन लागेको हो ।
धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा पर्यटक लैजानको लागि ६ वर्षमा बनाइसक्ने गरी केबलकार निर्माण गरिने परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले जानकारी दिए । पञ्चासे पुग्न हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४ घण्टाको पैदल यात्रा गर्नुपर्छ ।
२ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे पुग्न निर्माण गर्न लागिएको केवलकारको माथिल्लो स्टेशन पञ्चासेबाट १ किलोमिटर तलको ताल नजिक रहेको छ भने तल्लो स्टेशन कास्कीको घाँटीछिनामा रहनेछ । यसको लम्बाई ८.५ किलोमिटर रहने बताइएको छ । निर्माण हुने केवलकारको दैनिक दश हजार मानिस बोक्ने क्षमता हुने शर्माले बताए ।
प्रतिकृया दिनुहॊस